Logo
Logo

दुबई जाँदै गरेका ७६ नेपालीलाई मध्यरातमा विमानस्थलबाट फर्काइयो


8k
Shares

काठमाडौं । नेपाल वायुसेवा निगमको विमानबाट आइतबार राति काठमाडौंबाट दुबई घुम्न जाँदै गरेका यात्रुको भिजिट भिसामा शंका गर्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयले ललितपुरको एक सहकारीका ७६ जना शेयर सदस्यहरूलाई मध्यरातमा अफलोड गरिदिएको छ ।

जाउलाखेलस्थित शुभेक्षा बहुउदेश्यीय सहकारीका शेयर सदस्य तथा पदाधिकारीको ७६ जनाको समूहलाई जहाज चढ्नुअघि अध्यागन कार्यालयले फर्काइदिएको हो । उनीहरू राति साढे ११ बजे दुबईका लागि उड्दै थिए । उक्त सहकारीका सचिव विजय शर्माका अनुसार उनीहरू सबैजना चार दिनका लागि दुबई एक्स्पोमा भाग लिन काठमाडौंबाट जाँदै थिए ।

‘हाम्रो समूहमा करिब ७० प्रतिशत ४० वर्षमाथिका महिला शेयर सदस्य थिए,’ शर्माले भने, ‘अध्यागमनका कर्मचारीले माथिको आदेश भन्दै अध्यागमन कार्यालयमा जाँचपास लिइसकेका र नलिएका सबैलाई फर्काए ।’

उनका अनुसार यी यात्रुहरू जनही १ लाख ७ हजार रूपैयाँको टुर प्याकेज किनेर दुबई जाँदै थिए । कालिकास्थानस्थित अध्यागन विभागले ललितपुर महानगरपालिकाको नियमनभित्र पर्ने यो सहकारीका सदस्यहरूले भ्रमण सम्बन्धी कागजपत्र पूरा नभएकाले राति फर्काउनु परेको जनाएको छ । ‘समूहमा सहकारीका तर्फबाट विदेश जाँदै गरेको एउटै समूह रहेछ’, विभागका महानिर्देशक नारायण प्रसाद भट्टराईले कान्तिपुरसँग भने, ‘विमानस्थलमा रहेका अध्यागन कार्यालयका कर्मचारीले आधिकारिक निकायको चिठ्ठी माग्दो रहेनछ । त्यसैले अफलोड गर्नुपर्‍यो ।’, यो समाचार कान्तिपुर दैनिकबाट साभार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्