Logo
Logo

एमाले केन्द्रीय कमिटीको बैठक भक्तपुरमा बस्ने


630
Shares

काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटीको दोस्रो बैठक भक्तपुरस्थित जर्मन पार्टी प्यालेसमा बस्ने भएको छ ।

मंगलबार पार्टी केन्द्रीय कार्यालय थापाथलीमा बसेको महासचिव तथा सचिवहरूको बैठकले केन्द्रीय कमिटी भक्तपुरमा बस्ने निर्णय गरेको हो । मंसिर २५ र २६ गते बैठक बस्ने यस अघि नै निर्णय भइसकेको छ । बैठक बिहान ११ बजे सुरु हुने सचिव पद्मा अर्यालयले बताइन् ।

बैठकले स्थायी कमिटी र पोलिटव्युरो कमिटी गठन, नेताहरुको जिम्मेवारी बाँडफाँड, पार्टीको आगामी कार्ययोजना, केन्द्रीय कमिटीमा १० प्रतिशत मनोनित लगायत विषयमा छलफल हुने एजेण्डा रहेको केन्द्रीय सदस्य शेरबहादुर तामाङले बताए ।

एमालेले महाधिवेशन अघिसम्म केन्द्रीय कमिटी लगायतका बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल प्रतिष्ठानमा राख्दै आएको थियो । महाधिवेशनपछि केन्द्रीय कमिटीको संख्या बढेर ३०१ भएपछि च्यासलमा स्थान अभाव हुने भएकाले बैठक भक्तपुरमा बस्न लागेको हो ।

एमालेको १०औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पदाधिकारी र सदस्यहरुको बैठक शपथग्रहणलगत्तै सौराहा बसेको थियो । एमालेको विधान अनुसार ४५ सदस्यीय स्थायी कमिटी र ९९ सदस्यीय पोलिटब्युरो कमिटी गठन हुन्छ । एमालेको १० औं महाधिवेशनले १९ पदाधिकारीसहित ३ सय १ जना केन्द्रीय सदस्यहरु निर्वाचित गरेको छ ।

यता स्थायी कमिटी र पोलिटव्युरो कमिटीका सदस्यका लागि नेताहरुले शीर्ष नेताको घरदैलोमा पुगिरहेका छन् । केन्द्रीय कमिटीबाट स्थायी कमिटी र पोलिटव्युरो कमिटी गठन हुने भएकाले नेताहरुको दौडधुप जारी रहेको छ ।

अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र पोलिटव्युरो कमिटी गठनका लागि आन्तरिक गृहकार्यमा जुटेका छन् । एमाले स्रोतका अनुसार अध्यक्ष ओली आफू निकट नेताहरुसंग अहिले दिनहुँ छलफल गरिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्