Logo
Logo

ओलीलाई भोट नदिनेहरुमाथि छानबिन


135.9k
Shares

काठमाडौं । गत मंसिर १० र १२ गते चितवनमा सम्पन्न एमालेको १०औं महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष बन्ने केपी शर्मा ओलीको सपनामाथि भीम रावलले तातोपानी खन्याइदिएपछि ओली अहिलेसम्म रन्थनिएका छन् । उनी रन्थनिनुको एउटै कारण हो, भीम रावललाई मत दिने एमालेका प्रतिनिधि को–को हुन् ? यस विषयमा तीव्ररुपमा छानबिन हुँदैछ । रावललाई मत दिनेको नाम छानबिन भएपछि भविष्यमा ती नामलाई कुनै पनि जिम्मेवारी पदमा राखिने छैन, एमाले स्रोतले दृष्टिलाई बतायो ।

‘म निर्विकल्प छु’ भन्ने दम्भका साथ १०औं महाधिवेशनको तयारी गरिएको थियो । भाषा फरक बोले पनि महाधिवेशनको बन्दसत्रमा उनले ‘मसँग प्रतिस्पर्धा गर्न आउनेलाई टिन ठटाएर लखेट्छु’को शैलीमा आफूलाई पेश गरेका थिए । तर, लखेट्न चाहेका कुनै पनि उम्मेदवार लखेटिएनन् ।
बरु, चुनाव भयो, उनीहरु ओलीका आमनेसामने भए । यस्तो हुँदा आफू ‘निर्विकल्प’ बन्ने दम्भलाई हठका साथ चरितार्थ पार्ने उनको मनशायमाथि ठूलो प्रहार भयो । यसकारण ओली दोस्रोपटक अध्यक्ष भएर पनि झन् बढी दुःखी छन् ।

उनी निकटस्थ एक नेताले दृष्टिलाई बताएअनुसार, अहिले आफूलाई मतदान नगर्ने २ सय २३ प्रतिनिधि पत्ता लगाउने निर्देशन दिएका छन् । ओलीले महाधिवेशनको निर्वाचन प्रमुखका रुपमा तोकेका डा. विजय सुब्बासहितका नेताहरुसँग भनेका छन्– ‘ती प्रतिनिधिमध्ये ५० जनालाई भीम रावलका भित्रिया भनेर मानौँला, तर बाँकी १ सय ७३ को हुन् ? मलाई नाम चाहियो । तिनीहरु धमिरा हुन्, भित्रभित्रै घुसेका भष्मासुर हुन् ।’
महाधिवेशनपूर्व प्रतिनिधि छनोटका क्रममा देशव्यापी रुपमा चलाइएको एउटै अभियान थिया– ‘अध्यक्ष केपी ओली निर्विकल्प हो, बाँकी पदाधिकारी र केन्द्रीय सदस्यमा सबैको आकांक्षा समेटिन्छ ।’ त्यसैले जो–जो, जहाँ–जहाँबाट प्रतिनिधि छानिए, तिनीहरुमाथि राखिएको मुख्य शर्त नै ‘केपी ओली निर्विकल्प अध्यक्ष’ भन्ने थियो ।

मंसिर १३ गते अध्यक्ष, उपाध्यक्ष र सचिव पदका लागि भएको निर्वाचन हुनुअघि ओलीले आफ्नो भित्री समूहमा लामो हिसाब निकाले, भीम रावलको कति भोट आउँछ भनेर । त्यसमा स्वयं विजय सुब्बादेखि विभिन्न प्रदेशस्थित आफ्ना खास–खास मान्छेहरु सहभागी थिए । उनीहरुको छलफलले निकालेको निष्कर्ष थियो– ‘भीम रावलले ५० भोट काट्दैनन् । यदि, त्योभन्दा बढी भोट आयो भने त्यहाँ धोका भएको स्पष्ट हुन्छ ।’ तर, भीम रावलको २ सय ३३ भोट आइदियो ।

अहिले ती सम्पूर्ण मान्छेको खोजी गरेर तिनीहरुसँग सांगठानिक रुपमा एक–एक हिसाब निकाल्ने काम शुरु भएको स्रोतले जनाएको छ । यसका लागि महाधिवेशनमा प्रयोग गरिएको सिसिटिभीको फुटेज संकलन भइसकेको छ । ती फुटेजमा मतदानका क्रममा कसले कुन बटम थिचे भन्ने कुरा हेर्नका लागि जुम गर्ने काम भइरहेको छ र करिव ७० जनाको पहिचान खुलिसकेको उक्त काममा संलग्न एक प्राविधिकले दृष्टिलाई बताएका छन् । त्यसरी पहिचान खुल्ने प्रतिनिधि स्वयंका हकमात्रै हैन, ती को अन्तर्गतका वा कसको जिम्माका हुन् भन्ने कुरा पत्ता लगाएर ती–ती व्यक्तिमाथि पनि ओलीको डण्डा चल्ने स्रोतले जनाएको छ ।

महाधिवेशनमा आफूले प्रस्तुत गरेको नामावली जस्ताको तस्तै अनुमोदन गराउँछु र चुनाव गराउँदिन भन्ने ओलीको हठलाई स्वयं उनका भित्रियाहरुले अस्वीकृत गरिदिएका छन् । भीम रावलले अध्यक्ष पदमा उम्मेदवारी दिन नपाउने भएपछि महाधिवेशनको वैधानिकतामाथि प्रश्न उठाउँदै अदालत जाने तयारी गरेका थिए ।

यदि, भीम रावल अदालत पुग्ने र त्यसले रावलको पक्षमा आदेश दिने अवस्था आयो भने के हुन्छ भनेर ओलीले सुवास नेम्वाङ र अग्नी खरेलसँग सोधेका थिए । दुबैको जवाफ थियो, ‘महाधिवेशन वैधानिक हुँदैन, सबै निर्णयहरु रद्ध हुनसक्छ ।’ यही कारण ओलीको हठ स्वीकृत भएन, निर्वाचन भयो ।

महाधिवेशनलगत्तै एमालेभित्र नयाँखाले गुट र शक्तिकेन्द्रहरुको विकास भएको छ । पहिलो गुटका रुपमा अगाडि आएको छ– ईश्वर पोखरेल र सुवास नेम्वाङ । सुवासलाई ओलीले वरिष्ठ उपाध्यक्ष प्रस्ताव गरेको विषयमा शुरुदेखि नै मन परेको थिएन ।

यदि, सुवासले ओलीको कुरा नमानेर वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएको भए ईश्वरले हार्ने सम्भावना बढी थियो । ईश्वरले हार्दा त्यो हार उनको मात्र हार नभएर ओलीकै हारसरह हुन्थ्यो । यसकारण अनेक व्यक्ति र समूह लगाएर सुवासलाई उपाध्यक्ष स्वीकार्न लगाइयो ।

तर, सुवास अझै पनि सन्तुष्ट छैनन् । उनले आदिवासी, जनजाति समुदायदेखि कानुन क्षेत्रसँग सम्बन्धित पार्टी सहकर्मीहरुसँग भित्री छलफलको क्रम शुरु गरेका छन् । सुवाससँग लामो समयदेखि ओलीको साथ रहँदै आएका नेता–कार्यकर्ताको संख्या बढी छ । तर, ईश्वरसँग ओलीका पुरानो टीमका मान्छे थोरै छन् ।

विरोधीविहीन पार्टी बनाउन चाहेका केपीका निम्ति सबभन्दा ठूलो चुनौति बनेका छन्– घनश्याम भुसाल । उपाध्यक्षमा चुनाव हारे पनि केन्द्रीय सदस्यको शपथ लिएका घनश्यामले पार्टीभित्र चलाउने वैचारिक बहस र ओली कार्यशैलीविरुद्ध गर्ने क्रियाकलापबाट पार्टीभित्र दोस्रो गुटको विकास हुने अवस्था छ । घनश्याम भुसालसँग १० बुँदे सहमतिका नाममा एमालेमै रहने माधव समूहका १० भाइ र तिनीअन्तर्गतको ठूलो पंक्ति छ ।

१०औं महाधिवेशनअघि चूपचाप रहेको उक्त पंक्ति महाधिवेशनमा पनि एकतावद्ध भएर उपस्थित भएन । कारण थियो, ओलीले ‘गुटबन्दी’का नाममा सबैलाई पत्तासाफ पार्ने खतरा । तर, अब जे हुनु, भइसकेको छ । त्यसैले घनश्यामको मोर्चाबन्दी विकास हुँदै अन्ततः ओलीका निम्ति सबभन्दा घाँडो बन्ने स्थिति प्रष्ट छ ।

१० बुँदे पक्षधरहरु झैँ महाधिवेशनसम्म चूपचाप बसेका पूर्वमाओवादीहरु अब आफ्नो समूहको रक्षाका निम्ति समूहवद्ध हुने भएका छन् । अहिले एमाले बनेका पूर्वमाओवादीहरुको यो त्यही ग्याङ हो, जसले पुस ५ अघिसम्म प्रचण्डको ‘टाउको खाने’ काम गर्दै आएका थिए । प्रचण्डले ‘घाँडो’का रुपमा पन्छाएका बादलहरु अहिले ओलीले बोकिरहेका छन् ।

केपी ओलीका निम्ति आफ्नै उपगुटहरुको व्यवस्थापन जटिल बन्ने भएको छ । उनले सुवास नेम्वाङलाई मात्रै चिढ्याएका छैनन्, गोमा देवकोटा, राधा ज्ञवालीजस्ता महिला हस्तीमाथि पनि ठूलो अन्याय गरेका छन् । ओली गुटभित्र विद्या भण्डारीको उपस्थिति र प्रभाव स्वयं ओलीको भन्दा पनि बलियो छ ।

महाधिवेशनका क्रममा ओलीले विद्याहरुको कुरालाई त्यति धेरै ख्याल गरेनन् । शंकर पोखरेल महासचिव त बनाइए, तर शेरधन राई, राधा ज्ञवाली, बिन्दा पाण्डेहरुका हकमा उनले कुनै सुनुवाई गरेनन् । राधा ज्ञवाली, डोरमणि पौडेलहरुलाई त ७० वर्ष नपुग्दै पार्टीबाटै लखेटेका छन् । त्यसैले ओलीका निम्ति यो अर्को चुनौतिको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्