Logo
Logo

एमालेमा मैले जितेको छु : भीम रावल


6.2k
Shares

अछाम । नेकपा एमालेका नेता भीम रावलले १०औं राष्ट्रिय महाधिवेशनमा आफू पराजित नभएको दाबी गरेका छन् ।

आज (बुधबार) अछामको साफेबगरमा आयोजित कार्यक्रममा उनले पार्टीको विधि, पद्धति र प्रणालीको बारेमा आवाज उठाएको भन्दै आफूले त्यसमा जितेको बताए ।

‘चितवनमा भर्खरै सम्पन्न महाधिवेशनबाट म पराजित भएको छैन । तपाईं अछामका सम्पूणर् नेता-कार्यकर्ता र यहाँका हजारौं जनताले मलाई विश्वास गरेर देशको लागि बोल्नु, अन्यायमा परेकाको हकहितका लागि बोल्नु, समानताका लागि बोल्नु’, उनले भने, ‘राष्ट्रमाथि आइपर्ने प्रत्येक विपत्तिको विरुद्धमा लड्नु भनेर जुन विश्वास लिएर पठाउनु भएको थियो, मेरो विचारमा, मान्यतामा म आज पनि दृढतापूर्वक अडेको छु ।’

उनले मातृभूमिबाट विदेशी बुट बजारिरहँदा, लिम्पियाधुरामा भारतीय अतिक्रमण भइरहँदा केही नेताहरु एमसीसी पास गरेर आफ्नो पद बचाउन लागेका आरोप पनि लगाए । तर उनले यो देशलाई उपनिवेश हुन नदिने पनि बताए ।

रावलले बुटवलमा भएको एमालेको आठौं महाधिवेशनमा वर्तमान अध्यक्ष केपी शर्मा ओली अध्यक्ष र उनकै पक्षबाट आफू उपाध्यक्षमा पराजित भएको स्मरण पनि गरे । अध्यक्ष ओलीले उपाध्यक्ष हुनू भन्दा टीका लगाएर उपाध्यक्ष नबन्ने भनेर अस्वीकार गरेको उनले बताए । केन्द्रीय सदस्यको शपथ लिन आफूले नमानेपछि ओलीले पद नै खारेज गर्ने चेतावनी दिएको समेत उनले सुनाए ।
उनले आफू अध्यक्षमा हार्दैमा केही फरक नपर्ने पनि बताए ।

‘आठौँ महाधिवेशनमा केपी शर्मा ओली अध्यक्ष पदमा लडेका थिए । म उहाँकै समूहबाट उपाध्यक्षमा लड्दा हारें । अहिलेको महाधिवेशनमा देशभक्तिको झण्डा उठेको छ’, उनले थपे, ‘तर मैले एमालेमा जितेको छु, हारेको छैन । पदमा कसले हारेको छैन र ? आठौंमा ओलीसँगै हामीले हारेका हौं । मान्छे त्यतिबेला हार्छ जब उसको देशभक्ति डगमगाउँछ ।’

प्रतिक्रिया दिनुहोस्