Logo
Logo

देउवालाई प्रधानमन्त्री मात्र नभएर सरकारको नेता बन्न ओलीको सुझाव


1.1k
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री मात्र नभएर सरकारको नेता बन्न सुझाव दिएका छन् ।

आजदेखि काठमाडौंमा सुरु भएको नेपाली कांग्रेसको १४औं महाधिवेशनको सफलताको शुभकामना दिँदै उनले उक्त सुझाव दिएका हुन् ।

कांग्रेसले सबैलाई साथ लिएर हिँडेमा आफ्नो आपत्ति नरहने रहेको ओलीले बताए । कांग्रेसलाई सुझाव दिँदै उनले भने, ‘तर, अरुका नीतिको पछाडि होइन, आफ्नो नीतिमा हिडोस् । शेरबहादुर देउवाजी प्रधानमन्त्री मात्र होइन, सरकारको नेता हुनुहोस् ।’

सोही कार्यक्रममा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मिलेरै अगाडि बढनुपर्ने बताउँदै गर्दा ओलीले कांग्रेसलाई आफ्नो विचार लिएर अगाडि बढ्न सुझाए ।

‘कांग्रेस एक्लै नहिडोस्, सबैलाई लिएरै हिडोस् तर आफ्नै विचार लिएर हिडोस, आफ्नै विचारमा समेटेर सबैलाई हिडोस् शुभकामना छ’ ओलीले भने । ओलीले कांग्रेसलाई आफ्नै विचार बोकेर अगाडि बढन सुझाव समेत दिएका छन् ।

उनले राष्ट्रियता, देशको विकास, जनताका हितका पक्षमा कांग्रेसलाई एमालेले पनि साथ दिने प्रस्ट बताए । माधव नेपालप्रति इंगित गर्दै ओलीले भने, ‘केही साना दललाई भने का्रग्रेसले औँला छोड्ला कि भन्ने चिन्ता लागेर सँगै जानुपर्छ भनिरहेका छन ।’

ओलीले आफू कांग्रेसको महाधिवेशनमा शुभकामना दिन आएको भन्दै कसैको कुरामा कुनै वादप्रतिवाद नगर्ने बताए । उनले आफूलाई मञ्चको कुनै कमी नभएको भन्दै चाहेको कुरा पछि पनि राख्न सक्ने बताए ।

‘कसैको कुरामा वादप्रतिवाद केही गरिरहन चाहन्न । म मेरो राजनीति आफ्नै मञ्चहरूमा गर्न पाउँछु । मलाई मञ्चहरूको कमी छैन’ उनले भने । कार्यक्रममा नेतालाई चोरको रूपमा चित्रित गर्ने राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनप्रति ओलीले कटाक्ष गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्