Logo
Logo

माओवादी केन्द्रको प्रदेश सम्मेलन आज, प्रचण्डले भर्चुअल माध्यमबाट उद्घाटन गर्ने


1.9k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको प्रदेश सम्मेलन आज हुँदैछ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज सात भौगोलिक र तीन गैर भौगोलिक गरी १० प्रदेशमा हुने सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम छ ।

माओवादी पार्टी कार्यालयका मुख्यसचिव श्रीराम ढकालका अनुसार ‘प्रचण्ड’ले दिउँसो १ बजे भर्चुअल माध्यमबाट सम्मेलनको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

माओवादीले सात भौगोलिकसहित उपत्यका विशेष, सम्पर्क समन्वय र प्रवास प्रदेश समिति गठन गरेको छ ।

प्रदेश नं १ को विराटनगर, प्रदेश नं २ को जनकपुर, वाग्मतीको काठमाडौं, गण्डकीको पोखरा, लुम्बिनीको भालुवाङ दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सम्मेलन हुने माओवादीले जनाएको छ ।

विशेष र सम्पर्क समितिले अनुकूलमा सम्मेलन गर्ने भएका छन् । प्रवास समितिको सम्मेलन आज नहुने भएको छ ।

माओवादी केन्द्रले सम्मेलनबाट नौ पदाधिकारीसहितको समिति चयन गर्नेछ । प्रदेश समिति एक अध्यक्ष, तीन उपाध्यक्ष, एक सचिव, तीन सहसचिव र कोषाध्यक्ष एक गरी नौ सदस्यीय पदाधिकारी हुनेछन् ।

प्रदेशमा नं १ मा २५९, २ नं प्रदेशमा २७१, वाग्मतीमा २७५, गण्डकीमा २२९, लुम्बिनीमा २५३, कर्णालीमा २११ र सुदूरपश्चिम प्रदेशमा २२३ सदस्यीय समिति हुनेछ । विशेष, सम्पर्क र प्रवास समिति न्यूनतम् १७५ सदस्यीय हुनेछन् ।

माओवादी केन्द्रको राष्ट्रिय सम्मेलन आगामी पुस ११ देखि १३ गतेसम्म राजधानीमा हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्