Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने


1.5k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापतिमा उम्मेदवारी नदिने भएका छन् ।

संस्थापन इतर समुहमा सभापतिको उम्मेदवार सर्वसम्मत हुन नसकेपछि पौडेलले उम्मेदवारी नदिने निष्कर्षमा पुगेका छन् । इतर समुहबाट महामन्त्री डा. शशांक कोइराला र नेता प्रकाशमान सिंहले सभापतिमा उम्मेदवारी दिने आफ्नो अडान नछोडेपछि पौडेल सर्वसम्मत अध्यक्षको उम्मेदवार हुन नसकेका हुन् ।

पौडेल निवासमा मिनेन्द्र रिजाल, बन्द्री पाण्डे लगायतका नेता कार्यकर्ताहरु पुगेका थिए । नेता पाण्डेले भने, ‘रामचन्द्र पौडेल आफूले सभापतिको उम्मेदवारी नदिने भन्नुभएको छ । उहाँले कसलाई समर्थन गर्ने भन्नेबारेमा बेलुकासम्म टुंगो लाग्नेछ ।’

यता नेता प्रकाशमान सिंह र शेखर कोइरालाका बीचमा सहमति जुट्न सकेको छैन् । सर्वसम्मत रुपमा आफूलाई उम्मेदवारी बनाउन पौडेलले आग्रह गर्दै आएका थिए । पटक पटकको छलफल तथा बैठक पश्चात समेत सर्वसम्मत अध्यक्षको उम्मेदवार पौडेल समुहले छनोट गर्न सकेन् ।

कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत जिल्ला र प्रदेश अधिवेशनमा शेरबहादुर देउवा र कृष्ण सिटौला समुह एउटै प्यानल बनाएर अगाडि बढेका थिए । महाधिवेशनमा पनि उनीहरु एक भएर जाने सहमति भएको छ ।

महाधिवेशनको उद्घाटन सत्र सकिएर बन्दसत्र सुरु हुँदा समेत कांग्रेसका दुवै समुहले ‘प्यानल’ बनाउन सकेका छैनन् । सभापति शेरबहादुर देउवा पक्ष (संस्थापन)ले उपसभापति, महामन्त्री र सहमहामन्त्रीको टुंगो लगाउन सकेको छैन् ।

कांग्रेस विधानमा सभापति, २ उपसभापति, २ महामन्त्री, ८ सहमहामन्त्री र १ जना कोषाध्यक्ष मनोनित गरी १४ जना पदाधिकारी रहने व्यवस्था गरिएको छ । केन्द्रीय सदस्यहरू खुलातर्फ ३५ जना, विभिन्न समावेशी समूह र पिछडिएको क्षेत्रतर्फ ६५ जना र ७ प्रदेशबाट १÷१ महिलासहित २१ जना आउने छन् । कांग्रेसको विधानमा उपसभापति, महामन्त्री र केन्द्रीय सदस्यमा खुलातर्फको छुट्टै कोटा भए पनि सहमहामन्त्रीमा खुलातर्फ कोटा छुट्याइएको छैन् ।

प्रतिक्रिया दिनुहोस्