काठमाडौं । देशमा आरक्षण प्रणालीमा हुनेखानेहरुले कसरी कब्जा गर्छन् भन्ने कुरा नेपाली कांग्रेसको महाधिवेशनबाट पनि प्रष्ट भएको छ ।
देशका एक मात्र अर्बपति व्यापारी बिनोद चौधरीले मधेसीका लागि छुट्याइएको कोटाबाट नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा मनोनयन दर्ता गराएका छन् ।
राज्यका निकायमा कमजोर पहुँच भएकालाई माथि ल्याउन आरक्षण प्रणाली लागू गरिएको हो । तर, देशकै सबैभन्दा सम्पन्न व्यापारी चौधरीले त्यही कोटाको ‘दुरुपयोग’ गरेका छन् । चौधरी आरक्षण कोटामा चुनाव लडेकोमा सामाजिक सञ्जालमा व्यापक रुपमा प्रश्न उठाइएको छ । पैसाकै बलमा राजनीतिमा लागेका चौधरी खुलातर्फ लड्दा कांग्रेस कार्यकर्ताले हराउने ठानेर मधेसी कोटामा प्रतिस्पर्धा गरेका हुन् ।
गत वर्ष मात्र सर्वाेच्च अदालतले तरमारा वर्गलाई आरक्षणको सुविधा नदिने गरी कानून बनाउन आदेश दिएको थियो । तर, यसतर्फ सरकारले कुनै चासो दिएको छैन । जसकारण आरक्षण चाहिने वास्तविक वर्ग हुनेखानेको थिचोमिचोमा पर्दै आएका छन् ।