काठमाडौं । नेपाल प्रहरीमा एआईजीको दुई दरबन्दी थपिएको नजिर देखाउँदै सशस्त्र प्रहरीमा पनि एआईजी थप्न गृहकार्य भइरहेको छ । खासगरी सशस्त्र प्रहरी एकेडेमीमा एआईजी थप्नका लागि लबिइङ भइरहेको छ । तर, संगठनको तर्फबाट भन्दा व्यक्तिगत रुपमा यस्तो दौडधुप भइरहेको छ । हाल सशस्त्रको व्यवस्थापन तथा संगठन सर्वेक्षण भइरहेको छ, त्यही क्रममा केही दरबन्दी थपघट गर्न लागिएको हो ।
डिआइजीको पदावधि पूरा गरी अवकाश पाउन लागेका डिआईजीद्वय खड्ग राई र मन्दिप श्रेष्ठका लागि दरबन्दी थप्ने प्रयास भइरहेको हो । डिआईजीको पाँच वर्षे पदावधिका कारण माघ २७ गते उनीहरूले अवकाश पाउँदैछन् । अहिले एआईजी भएमा बैशाखमा आईजिपीको समेत दाबेदार हुने भएकाले उनीहरू दौडधुपमा लागेका छन् । तर सम्भावना भने न्यून देखिएको छ । यसअघि आईजिपीका दाबेदार मानिएका प्रवीण श्रेष्ठले डिआईजीकै नियमित पदावधि नथपिदा अवकाश पाएका थिए ।
आगामी चैतमा महानिरीक्षक शैलेन्द्र खनालले अवकाश पाउनेछन् । त्यसपछि एआईजी पुष्पराम केसीले दुई हप्ता संगठनको नेतृत्व गर्ने सम्भावना छ। । अर्का एआइजी रामशरण पौडेल पनि केसीलाई रोकर आफु आइजिपी हुन नेताको घर धाउन थालेका छन् । त्यसपछिपछि डिआईजीबाट सिधैं आईजिपी हुने सम्भावना सशस्त्रमा देखिएको छ । किनकी त्यसपछि दाबेदारहरू अहिलेसम्म डिआईजी नै छन् । राजु अर्याल, चन्द्रप्रकाश गौतम, नारायणदत्त पौडेललगायत महानिरीक्षकको प्रतिस्पर्धामा छन् । दुई साताबीचमा एआईजी बढुवा नभएमा सशस्त्र प्रहरीमा पहिलोपटक डिआईजीबाट एकैपटक आईजिपी हुने सम्भावना छ ।