Logo
Logo

‘विद्युत बिक्रीभन्दा उद्योगहरूलाई सहुलियत दिएर खपत बढाउनुपर्छ’


504
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्युत बिक्रीभन्दा खपत गर्नुपर्ने नीति लिनुपर्ने बताएका छन् ।

बधुबार नेपाल उद्योग वाणिज्य महासंघले गरेको नव उत्थान सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले विद्युत बिक्री गरेर व्यापार घाटा कम नहुने बताएका हुन् ।

अर्थमन्त्री शर्माले विद्युत खपत गरी वस्तु उत्पादन र रोजगारी सिर्जना गरेरमात्र व्यापार घाटा कम गर्न सकिने बताए । विद्युत महसुल घटाएर उत्पादन गर्ने उद्योगहरूलाई उपलब्ध गराउनुपर्ने उनको भनाइ छ ।

अहिले विद्युत बिक्री गर्नुपर्ने भन्दै प्राधिकरण चिन्ता गरिरहेको बताउँदै विद्युत बिक्रीबाट अर्थतन्त्र बलियो नहुने उनले बताए । बिक्रीभन्दा पनि उत्पादनशील उद्योगहरूलाई सहुलियतमा विद्युत उपलब्ध गराएर खपत बढाउनुपर्ने बताए ।

]‘विद्युत उद्योगलाई नदिने अनि खेर फाल्ने किसिमको नीतिलाई सरकारले सच्याउँछ’, उनले भने, ‘एकातिर विद्युत खेर गइरहेको छ, अर्कोतिर उद्योगले चलाउन पाएको छैन । यसले गर्दा रोजगारी सृष्टि हुन पाएको छैन ।’

नीति परिमार्जन गर्नेबारे मन्त्रालय र सम्बन्धित निकायसँग छलफल भइरहेको समेत मन्त्री शर्माले जानकारी दिए । यसलाई आगामी आर्थिक वर्षमा समेटिने उनले उल्लेख गरे ।

कुन उद्योगलाई कहाँ कति विद्युत उपलब्ध गराउनुपर्ने हो त्यसको यथेष्ट तथ्याङ्क बनाएर विद्युत उपलब्ध गराउनुपर्ने उनको भनाइ छ । विशेषगरी उत्पादन गरेर निर्यात गर्न सक्ने किसिमको उद्योगलाई प्राथमिकतामा राखेर विद्युत सहुलियतमा उपलब्ध गराउनुपर्नेमा जोड दिए । यसले मुलुकलाई उत्पादनुमुखी अर्थतन्त्र निर्माणमा टेवा पु¥याउने उनले विश्वास व्यक्त गरे ।

यस्तै निजी क्षेत्रले मुलुकको ग्राहस्थ उत्पादनमा ठूलो योगदान गरिरहेको स्मरण गर्दै मन्त्री शर्माले निजी क्षेत्रकै सुझावअनुसार आगामी नीति तय गरिने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्