Logo
Logo

इच्छाराजविरुद्ध सिआईबीले थप अनुसन्धान गर्दै


8.7k
Shares

काटमाडौं । सिभिल सहकारीमार्फत ठगीको अभियोग खेपिरहेका इच्छाराज तामाङमाथि प्रहरीले थप छानबिन सुरु गरेको छ । तामाङविरुद्ध नयाँ उजुरी आएपछि प्रहरीले थप अनुसन्धान थालेको हो ।

छानबिनका क्रममा सिभिल क्यापिटलको रकम सिभिल सहकारीमार्फत हिनामिना गरेको, हाउजिङका नाममा सर्वसाधारणलाई ठगी गरेको जस्ता थप रहस्य खुलेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआईबी)ले जनाएको छ ।

सिभिल बैंकको ७० प्रतिशत लगानी रहेको सिभिल क्यापिटलको ११ करोड रुपैयाँ सिभिल सहकारीमा जम्मा गर्ने नाममा हिनामिना भएको थियो । मर्चेन्ट कारोबार गर्ने सो कम्पनीले उक्त रकमको पाउन सकेको छैन ।

इच्छाराजकी श्रीमती सिर्जना शाक्य तामाङलाई सिभिल क्यापिटलको अध्यक्ष बनाएर सो रकम सहकारीमा जम्मा गर्न लगाएर सिभिल होम्सलगायत आफ्नो कम्पनीमा लगेका थिए  । सिभिल सहकारीको ठगीमा अन्य निक्षेपकर्ताले उजुरी गरेपनि कम्पनीले हालेको थिएन ।

यसमा बैंकिङ कसुर मुद्दा आकर्षित हुने र सिभिल क्यापिटलका अन्य सञ्चालकसमेत त्यसमा तानिने सम्भावना रहेको छ । पक्राउ पर्दासम्म तामाङ आफैँ सिभिल बैंकका अध्यक्ष थिए । सिभिल बैंक, सिभिल क्यापिटल तथा सिभिल सहकारीमा उनी हालीमुहाली हुँदा बैंकको लगानी रहेको कम्पनीको रकमसमेत हिनामिना गरेको खुलेको थियो ।

काठमाडौं हाउजिङमार्फत समेत ठगी गरेको भनेर सर्वसाधारण प्रहरीमा धाउन थालेका छन् । सिभिल होम्समै ५० भन्दा बढी सर्वसाधारणलाई घरघडेरी बिक्री गर्ने भनेर उनले पैसा लिएपनि नदिएको उनीमाथि आरोप छ । उक्त प्रकरणमा छुट्टै अनुसन्धान हुने सिआइबीले जनाएको छ ।
सिभिल सहकारीको रकम ठगी गरेको अभियोगमा दुई महिनादेखि प्रहरी हिरासतमा रहेका तामाङविरुद्ध सिआइबीले ठगी र संगठित अपराध मुद्दा दायर गरिसकेको छ भने यो मुद्दाका ३० आरोपी फरार छन् ।

मुद्दा दायर भएको १० दिनमा तामाङसहित पक्राउ परेका १२ अभियुक्तको बयान जिल्ला अदालतमा सकिएको छ । बुधबारदेखि अदालतमा थुनछेक बहस सुरु हुनेछ । मुख्य प्रतिवादी तामाङले अदालतमा पनि सहकारीका निक्षेपकर्ताको रकम फिर्ता गर्ने दायित्व आफ्नो नभई सञ्चालक समितिको भएको बताएका छन् ।

प्रहरी अनुसन्धानमा इच्छाराज मात्र यसमा प्रमुख अभियुक्त हुनुपर्ने र अन्यको सहायक भूमिका देखिएको निष्कर्ष थियो । तर, सरकारी वकिल कार्यालयले भने तामाङसहित सञ्चालक समितिका २० जना यसको जिम्मेवार भएको आशयसहित अभियोग दर्ता गरेको छ ।

प्रतिक्रिया दिनुहोस्