त्याग र सहास अर्थात् गणेशमान सिंह । नेपाली राजीतिज्ञलाई श्रद्धा र सम्मानका लागि यो भन्दा ‘श्रेष्ठ शब्द’ हुँदैन । र, अरु राजनीतिज्ञका लागि यो शब्द आजसम्म प्रयोग हुँदैन । अर्थात् गणेशमान सिंहले कायम गरेको नैतिकताको त्यो शिखरमा आफूलाई उभ्यान कसैले सकेका छैनन् ।
२०४६ को जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्रले प्रधानमन्त्री बन्न आग्रह गरे । तर, गणेशमानले समकक्षी कृष्णप्रसाद भट्टराईलाई अघि सारे । र, नेपाली राजनीतिमा त्यागको उच्च नमूना प्रस्तुत गरे । नेपाली राजनीतिमा आजपर्यन्त यो नै ‘श्रेष्ठतम् त्याग’ हुनेछ !
प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनको कमाण्ड ‘गणेशमान साहस’को उच्चतम् विन्दु थियो । राजनीतिक परिवर्तनका लागि अरुले पनि साहस गरे । ती सहासी नेतृत्वको स्थान आफ्नै ठाउँमा छ । तर, ‘गणेशमान साहसको शिखर’ सधैँ अटल रहनेछ । त्याग र सहास अर्थात् गणेशमानबारे यत्ति भने पुग्छ ।
सन्दर्भ र समीक्षा : नेपाली कांग्रेसको १४औं महाधिवेशन र गणेशमान पुत्र प्रकाशमान सिंह पतनको हो । बुबासँग छोरा तुलना गर्न न्यायसंगत त नहोला । चारित्रिकरुपमा ‘छोरा पनि बुबाजस्तै हुनुपर्छ’ भन्ने पनि विज्ञानसंगत नहोला (जेनेटिक बाहेक) ! तर, नेपाली लोकउक्ति ‘बोट गुनाको फल’ पनि त नकार्न मिल्दैन । अनि ‘संगत गुनाको फल’ भन्ने उक्ति पनि त बिर्सनु भएन ।
आज गणेशमान र प्रकाशमानलाई एउटै बकेटमा राखेर हेर्दा यी दुवै उक्ति खारेज हुन्छ । न बोट गुनाको फल भयो, न संगत गुनाको फल नै ! बुबा त्यगको पर्याय थिए, छोरा लालचको पर्याय बने !
१४औं महाधिवेशनमा प्रकाशमान सभापतिका बलिया प्रतिपर्धी मानिए । प्रचारमा आफूलाई सतिसाल देखाए । अन्तिममा उतिसको लाथ्रा भएर फत्रक्कै कुहिए !
प्रकाशमानका प्रचार नारा– नीति, निष्ठा र नेतृत्व । सायद यी तीन शब्दको अन्तर्बोध प्रकाशमानलाई नै छैन । नेतृत्व– फगत चाहना बन्यो । निष्ठा– प्रधानमन्त्री अफरमा सकियो । नीति– देउवालाई सघाएर मन्त्री बन्ने चाहनामा टुंगो लाग्यो ।
सभापतिका उम्मेदवार शेरबहादुर देउवाले पहिलो चरणको मतदानमा ५१ प्रतिशत मत पाएनन् । देउवाको निरन्तर नेतृत्व चाहनामा बलियो प्रतिद्वन्द्वी डा. शेखर कोइराला खतराका घण्टी थिए । त्यहाँ प्रकाशमान, बिमलेन्द्र निधि र अरु सारथी बन्न सक्थे । तर, ३७१ मत पाएका प्रकाशमान सबैभन्दा पहिला देउवाको शरण परे ।
महाधिवेशन प्रचारका क्रममा देउवाविरुद्व प्रकाशमान आगो ओकल्दै थिए । ‘एकमात्र उद्देश्य नेतृत्व परिवर्तन’ भन्दै कुर्ले । स्रोताको कानमा अझै गुञ्जिरहेको छ । तर, कति छिट्टै देउवाप्रति प्रेमभाव पैदा भयो ! प्रकाशमानकै अन्तरमनले बोध गरेको छैन सायद !
सभापतिको मृगतृष्णामा देउवा दौडेर चाक्सीबारी पुगे । प्रधानमन्त्रीको बल्छी थापे । नभए पनि यसैपालि उपप्रधानमन्त्री बनाउँछु भने । भित्तामा झुण्ड्याइएका त्याग र निष्ठका पर्याय बुबा गणेशमानले सुन्लान् कि भनेर सानो स्वरमा प्रकाशमानले भने– ‘मन्त्री बनाउने भए तपाईंलाई नै सहयोग गर्छु !’
हो यत्ति नै बेला गणेशमान आफूले पाएको प्रधानमन्त्री सहयोद्धा कृष्णप्रसाद भट्टराईलाई अर्पण गरेको त्यो त्यग र निष्ठा दुनियाँले सम्झे ।
बिचरा गणेशमान ! आफ्ना सन्तान यत्ति धेरै लालची भएको देखेर कतै कुनामा कसैले नदेख्ने गरी लुकेर आँशु पुछे होलान !
बुबा र छोरा तुलना गनारौं भन्दा पनि गर्नैपर्ने–
बुबा गणेशमान सहासका पर्याय, छोरा प्रकाशमान कातरका नमूना ! गणेशमान राणा र पञ्चायतसँग सिंगौरी खेलिरहे, छोरा प्रकाशमान प्युसो शेरबहादुरसँग लमतन्न परे ! आफू हारेको थाहा पाउने बित्तिक्कै देउवालाई समर्थन गर्ने घोषणा गरे !
त्यसमा प्रकाशमानभित्रको ‘कातर गुण’ले काम गर्यो । देउवाविरुद्ध ओकलेको आगोको ज्वारले आफँैलाई लपेट्ने चिन्ताले पिरोल्यो । सायद, यस्तो परिस्थितिमा गणेशमान भए अझै ठूलो आगो ओकल्ने साहस गर्दथे !
नेपाली राजनीतिमा भद्र सहमतिको अन्तिम रुप अभद्र वा उल्लङ्घन हुन्छ । एकताका गिरिजाप्रसाद कोइरालाले शेरबहादुरलाई कार्यवाहक सभापति बनाउने भद्र सहमित गरेका थिए । तर, त्यो अभद्र भयो । गिरिजा बाचुन्जेल त्यो सहमति सम्झाउँदै देउवा रोइरहे ! १४औं महाधिवेशनमा सभापति बनाउन सहयोग गर्छु भनेर शेरबहादुरले १३औं महाधिवेशनमा बिमलेन्द्र निधिको साथ मागे । तर आज, देउवा–निधि भद्र सहमति अभद्रतामा रुपान्तरण भयो । कांग्रेसमै यस्ता धेरै उदारण छन् ।
आज त्यसरी नै, देउवाले प्रकाशमानसँग भावी प्रधानमन्त्री र अहिलेकै अवस्थामा मन्त्री बनाउने सहमति गरे । त्यसै लालचमा परेर देउवालाई समर्थन गर्न प्रकाशमान तयार भए । गिरिजासँग देउवा कार्यवाहक सभापतिका लागि जसरी रोएका थिए, १४औं महाधिवेशबाट सभापति बन्ने चाहनामा बिमलेन्द्र जसरी देउवासामु रोइरहे त्यसरी नै प्रधानमन्त्रीका लागि प्रकाशमान कति रुने होलान् ?
यसरी प्रकाशमान लालचमा फसेको देख्दा उनै बुबा गणेशमानको निष्ठा सम्झनुपर्ने हुन्छ । अनि भन्नुपर्ने हुन्छ– ‘बोट राम्रो हुँदैमा गतिलो फल लाग्छ भन्ने नहुँदो रहेछ’ भनेर चित्त बुझाउनुपर्ने हुन्छ ।
यसो भनिरहँदा गणेशमानप्रति अन्याय नहोस् । किनकि, चारित्रिकरुपमा छोरा पनि बुबाजस्तै हुनुपर्छ भनेर आजको सर्वश्रेष्ठ आविश्वकार विज्ञानले पनि भनेको छैन । कुनै विधिशास्त्रमा पनि लेखिएको छैन । प्रकाशमानजस्तै बाउ गतिलो भए पनि छोरा अगतिलो भएको अनेकौं उदारण छन् ।
‘म सभापतिको स्वभाविक क्यान्डिडेट हुँ’, प्रकाशमानको यो दाबी गलत थिएन । गणेशमान योगदानको ब्याज र प्रकाशमान लगानीको योगफल जोड्दा योग्यता पुगेकै हो । तर, लुडो खेलमा भ¥याङ चढेर ९९ पुगेको गोट्टी सर्पले निलेर छेर्दा एकैपल्ट १२ मा झरेझैं पतन हुनुचाहिँ दुःखको कुरा हो ।
रामचन्द्र पौडेल कांग्रेस सभापति दौडको अन्तिम घडीमा आँशु पुछ्दै बाहिरिए । बाध्यात्मक बर्हिगमन भए पनि आज रामचन्द्रमा त्याग र निष्ठाको झल्को देखिन्छ । कम्तीमा कांग्रेसजनले रामचन्द्रमा अलिकति भए पनि त्याग र निष्ठा महसुस गर्छन् होला ! तर, प्रकाशमानले हारलाई पनि सौदाबाजी गरे ।
यति नै बेला गणेशमानले चुनाव नलड्ने घोषणा गरेको एउटा घटना सान्दर्भिक हुन्छ–
एकपटक चुनाव जितेपछि गणेशमानले मतपरिणाम हेरे । प्रतिस्पर्धामा उत्रने उम्मेदवारको मत जोडे । जितका लागि आफूले पाएको मतभन्दा हारेका उम्मेदवारको मत धेरै पाए । अनि भने– ‘विपक्षीहरु मिलेर लडेको भए हार्ने रहेछु । मतदाताले त मलाई पत्याएकै रहेनछन् । आजबाट चुनाव नलड्ने घोषणा गर्छु ।’
अर्थात्, गणेशमानमा स्वमूल्याङ्कन गर्ने अभूतपूर्व गुण थियो । कम्तीमा छोरा प्रकाशमानमा त्यति मात्र गुण सरेको भए धन्य हुन्थ्यो ! तर, छोरा प्रकाशमानले बुबा गणेशमान योगदानको व्याज पनि असम्भव तृष्णासँग साटिखाए । सायद, चाक्सीबारीको बाक्लो डस्नामाथि उतानो परेर सिंहदरबारको त्यो गरम–गरम कुर्सीमा फनफनी घुमिरहेको स्वप्न देख्दै होलान !
अन्त्यमा ‘मान’को कुरा–
मान अर्थात् आदर, सत्कार, सम्मान र प्रतिष्ठा ।
संयोग त्यस्तै रह्यो– बुबा गणेशमान, छोरा प्रकाशमान ।
फरक यति रहयो– गणेशमानले त्याग र निष्ठाको रुपमा आदर, सत्कार, सम्मान र प्रतिष्ठा सबैको ‘मान’ राखे । तर, छोरा प्रकाशमानले लालचमा आदर, सत्कार, सम्मान र प्रतिष्ठा सबैको ‘अपमान’ गरे !
भनिन्छ नि, धनबहादुर सबै धनी हुँदैनन् । मिलनहरु सबै मिलनसार हुँदैनन् । त्यसरी नै ‘मान’हरु सबै आदर, सत्कार, सम्मानयोग्य नहुँदा रहेछन्, सबै ‘मान’हरु आदर, सत्कार, सम्मान गर्न जान्ने नहुँदा हुन् ! बुबा गणेशमानले त्याग र निष्ठाको पर्याय बनेर ‘मान’को मान राखे । तर, छोरा गणेशमानले ‘मान’को अपमान गरे ।
प्रकाशले त आफू उज्यालो भएर दुनियाँ उज्यालो बनाउँछ । तर, यहाँ प्रकाश अँध्यारो (कालो) भयो, मान अभिमान भयो !
जय नेपाल !