Logo
Logo

शेयर होल्डरहरुलाई प्रचण्डको आग्रहः दलाल पूँजीपतिहरुको झुटो प्रचारमा नलाग्नुहोस्


2.3k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमति नहुन शेयर होल्डर जनसमुदायसँग आग्रह गरेका छन् ।

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले हालै दिएको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै अध्यक्ष प्रचण्डले नेपालको शेयर बजारका सन्दर्भमा आफ्नो पार्टी र आफु समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट पारेका छन् ।

प्रचण्डले आज प्रेस वक्तब्य जारी गर्दै भनेका छन्, ‘आजको पूँजीवादको चरित्रबारे मैले गरेको विश्लेषण सही रहेको दाबीसहित नेपालको शेयर बजारका सन्दर्भमा हाम्रो पार्टी र म समेत लाखौं लगानीकर्ताहरुको हितका पक्षमा रहेको स्पष्ट गर्न चाहन्छु । दलाल पूँजीपतिहरुको झुटो प्रचारबाट भ्रमित नहुन म शेयर होल्डर जनसमुदायसँग अनुरोध गर्दछु ।’

यस्तै प्रचण्डले पूर्वराजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने झुटो कुरा प्रचार गरेर एमालेका अध्यक्ष केपी ओलीले आफ्नो दरिद्र राजनैतिक चरित्र प्रदर्शन गरेको बताएका छन् ।

‘दलाल पूँजीपति वर्ग र प्रतिगमनको राजनैतिक प्रतिनिधिका रुपमा देखा परेका एमाले गुटका अध्यक्ष के.पी.शर्मा ओली, झुट, बेइमानी र धोकाको अर्को नाम हो भन्ने तथ्यलाई उनले हालैको आफ्नै अभिव्यक्तिबाट पुुनः प्रमाणित गरेका छन्’ प्रचण्डले भनेका छन् । ‘पूर्व राजा ज्ञानेन्द्र शाहसँग प्रचण्डको पाँच बुँदे सहमति भएको थियो भन्ने शत प्रतिशत झुटो कुरा प्रचार गरेर उनले आफ्नो दरिद्र राजनैतिक चरित्र मात्र प्रदर्शन गरेका छन् ।’

यस्तै प्रचण्डले ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकामा जनतासँग माफी माग्न समेत ओलीलाई चुनौती दिएका छन् । ‘म केपी ओलीलाई ‘पाँच बुँदे सहमति’ प्रमाणित गर्न र प्रमाणित गर्न नसके झुटो बोलेकोमा जनतासँग माफी माग्न चुनौती दिन्छु ।’

ओली माक्र्सवाद र कम्युनिष्ट सिद्धान्तबाट कोसौँ टाढा भागेको बताउँदै प्रचण्डले भनेका छन्, ‘ओलीबाट मैले भूमण्डलीकृत साम्राज्यवाद र वित्तिय एकाधिकार पूँजीवादबारे गरेको विश्लेषण माथि गरिएको टिप्पणीलाई दलाल पूँजीपति वर्गको एजेण्टको टिप्पणीका रुपमा खारेज गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्