Logo
Logo
कांग्रेसको १४औँ महाधिवेशन

पाँच सहमहामन्त्रीको मतगणना आज


5.9k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत सहमहामन्त्रीको मतगणना भइरहेको छ । कांग्रेस सहमहामन्त्रीमा विभिन्न आठ क्लस्टर रहेका छन् ।

आठमध्ये हिजो तीन वटा क्लस्टरको नतिजा आइसकेको छ । सहमहामन्त्रीमा महिलातर्फ महालक्ष्मी उपाध्याय डिना, आदिवासी जनजातितर्फ भीष्मराज आङ्देम्बे र दलिततर्फ जीवन परियार निर्वाचित भएका छन् ।

कांग्रेसको निर्वाचन समितिले जनाए अनुसार बाँकी रहेका मुस्लिम, मधेसी, पिछडिएको क्षेत्र, थारू, खस, आर्यतर्फका सहमहामन्त्रीका लागि आज बिहानदेखि मत गणना गरिँदैछ ।

मुस्लिमतर्फ फमुल्लाह मन्सुर र शेख वकिल, मधेसीतर्फ महेन्द्र यादव, रञ्जित कर्ण र रामकृष्ण यादव, पिछडिएको क्षेत्रतर्फ चेतराज बजाल, थारूतर्फ उमाकान्त चौधरी र तेजुलाल चौधरी तथा खस, आर्यतर्फ किशोरसिंह राठौर र देवराज चालिसे प्रतिस्पर्धामा छन् । यी हरेक क्लस्टरबाट एक जना सहमहामन्त्री निर्वाचित हुनेछन् ।

यसअघि सभापतिमा शेरबहादुर देउवा, उपसभापतिमा पूर्णबहादुर खड्का र धनराज गुरुङ तथा महामन्त्रीमा गगन थापा र विश्वप्रकाश शर्मा विजयी भएका छन् ।

सभापतिदेखि केन्द्रीय सदस्यसम्म एक सय ३४ केन्द्रीय कार्यसमितिका लागि सोमवार मतदान भएको थियो । सभापतिमा ५१ प्रतिशत नपुगेपछि मङ्गलवार पुनः मतदान गरिएको थियो । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारीमध्ये एक सभापति, दुई उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री निर्वाचित हुने व्यवस्था छ ।

कोषाध्यक्ष भने निर्वाचित केन्द्रीय सदस्यमध्येबाट निर्वाचित हुने विधानको व्यवस्था छ । त्यस्तै ३५ खुला केन्द्रीय सदस्य, महिला नौ, हरेक प्रदेशबाट तीन जनाका दरले २१, दलित नौ, आदिवासी/जनजाति १५, खस/आर्य १३, मधेसी नौ, थारु चार, मुस्लिम तीन, पिछडिएको क्षेत्रबाट एक, अल्पसङ्ख्यकबाट एक, अपाङ्गता भएकाबाट एक सदस्य गरी कुल १३४ पदाधिकारी तथा सदस्य चयन हुने कांग्रेसको विधानमा व्यवस्था रहेको छ । यसबाहेक केन्द्रीय सभापतिले ३३ जना मनोनीत गर्ने उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्