Logo
Logo

नेताहरुको वरियता निर्धारणमा एमालेभित्र असन्तुष्टि


5.2k
Shares

काठमाडौं । नेकपा एमालेमा पूर्वमाओवादी नेताहरुलाई अगाडि सारिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले वरीयतामा पार्टीका पुराना नेतालाई भन्दा पूर्वमाओवादीलाई प्राथमकिता दिएपछि पार्टीभित्र असन्तुष्टि बढेको छ ।

हालै भक्तपुरमा सम्पन्न केन्द्रीय कमिटी बैठकपछि सार्वजनिक जारी गरिएको अन्तर पार्टी निर्देशन (अपानी)मा नेताहरूको वरीयता निर्धारण गरिएको हो । वरीयता निर्धारण गर्ने क्रममा अध्यक्ष ओलीले पार्टीभिका भन्दा पूर्वमाओवादी नेताहरूलाई प्राथमिकता उदएका छन् । १०औँ महाधिवेशनको निर्वाचनमा ६ जना उपाध्यक्षमध्ये सबैभन्दा थोरै मत पाएका रामबहादुर थापा ‘बादल’लाई वरीयताक्रममा तेस्रो नम्बरमा राखिएको छ । त्यस्तै, उपाध्यक्षको पहिलो वरीयतामा युवराज ज्ञवाली र दोस्रोमा अष्टलक्ष्मी शाक्य छन् ।

पूर्वमाओवादी बादलपछि विष्णु पौडेल चौंथो वरीयतामा छन् भने पाँचौंमा सुवास नेम्वाङ र छैठौं वरीयतामा सुरेन्द्र पाण्डे छन् । उपाध्यक्षको पाचौं वरीयतामा रहेका नेम्वाङले अन्तिम समयसम्म पनि वरिष्ठ उपाध्यक्षमा दाबी गर्दै आएका थिए ।

त्यस्तै, ७ सचिवमध्ये २ जना सचिव पूर्वमाओवादी नेता हुन् । उनीहरूलाई वरीयतामा पहिलो र दोस्रो वरियतामा राखिएको छ । टोपबहादुर रायमाझी सचिवको पहिलो र लेखराज भट्ट दोस्रो वरीयतामा छन् ।

महाधिवेशनमा सबैभन्दा धेरै मत ल्याएका गोकर्ण बिष्टलाई तेस्रो वरीयतामा राखिएको छ भने योगेश भट्टराई चौथो वरीयतामा छन् ।
बिष्टले नवौं महाधिवेशनमा समेत सचिवमा सबैभन्दा धेरै मत ल्याएका थिए । उनले उपमहासचिवको दाबी गरेका थिए । तर, ओलीले नवौं महाधिवेशनमा सचिवमा पराजित बनेका विष्णु रिमाललाई उपमहासचिवमा बढुवा गरेका छन् ।

उपमहासचिवको पहिलो वरीयतामा रहेका प्रदीप ज्ञवाली र दोस्रो वरीयतामा रहेका पृथ्वीसुब्बा गुरूङ नवौं महाधिवेशनमा सचिवमा विजयी भएका थिए । सचिवको पाँचौं वरीयतामा परेका छविलाल विश्वकर्मा र छैठौं वरीयतामा रहेका रघुवीर महासेठ यसअघि स्थायी कमिटी सदस्य थिए ।

एमालेमा वरीयतालाई लिएर असन्तुष्टि बढेको छ । अध्यक्ष ओलीले मनोमानी तरिकाले वरियताक्रम छुट्याएको भन्दै एमाले नेताहरु असन्तुष्ट भएका हुन् । बादललाई अघि सारिएकोमा नेम्वाङ, पौडेल र पाण्डे असन्तुष्ट छन् । सचिवमा रायमाझी र भट्टलाई अघि सारिएकोमा बिष्ट र भट्टराईसमेत असन्तुष्ट रहेको एमाले स्रोतको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्