Logo
Logo

संसद अवरोध ओली प्रतिगमनकै निरन्तरता हो : प्रचण्ड


2.1k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ओली प्रतिगमनकै निरन्तरतास्वरुप सदन अवरुद्ध गर्ने काम भइरहेको आरोप लगाएका छन् ।

केपी शर्मा ओलीले असंवैधानिक रुपमा प्रतिनिधिसभा विघटन गरेको दिनलाई ‘कालो दिन’को रुपमा व्याख्या गर्दै समाजवादी प्रेस संगठन, नेपालले आयोजना गरेको ‘प्रतिगमनको खतरा, लोकतन्त्र र संविधानको रक्षा’ विषयक बहसमा सहभागी अध्यक्ष प्रचण्डले यस्तो आरोप लगाएका हुन् ।

फाइल फोटो

बहसका क्रममा अध्यक्ष प्रचण्डले भने– ‘ओलीजी अहिले पनि प्रतिगमनकै बाटोमा छन् । उनले प्रतिगमन नसच्याएको त छँदै थियो । आजभोली तपाईं–हामीले सदनभित्र जे देखेर भोगीरहेका छौँ, त्यो प्रतिगमनकै निरन्तरता हो, उहाँको तर्फबाट । संविधान मिच्ने, लोकतान्त्रिक विधि परम्परालाई मिच्ने र प्रतिगमनका निम्ति वातावरण तयार पार्ने सड्यन्त्रमा उहाँ अहिले पनि लागिराख्नु भएकै छ । त्यो प्रतिगमनकै निरन्तरता हो ।’

नेकपा एमालेले सभामुखको राजीनामा माग गर्नुपर्ने कुनै कारण नरहेको समेत बताएका छन् । अध्यक्ष प्रचण्डले भने– ‘ह्वीप लाग्दैन भन्ने अदालतको फैसला छ, सभमुखले १५ दिनभित्र लिनुपर्ने निर्णय १३ दिनमै लिनुभएको छ । त्यहाँ कतै ऐनको उलंघन पनि भएको छैन ।

संविधानको मर्म र भावमा उलंघन पनि छैन । त्यसैले सभामुखको राजीनामा माग्नुपर्ने कुनै कारण छैन । यो पनि प्रतिगमनकै निरन्तरता हो ।’
पछिल्लो समय एमालेका अध्यक्ष ओलीले सत्तारुढ पाँच दलीय गठबन्धन टुटे एमसीसी पास गर्न सहयोग गर्न दिनएको अभिव्यक्तिलाई पनि अध्यक्ष प्रचण्डले प्रतिगमनको निरन्तरता भनेका छन् । अध्यक्ष प्रचण्डले भने– ‘गठबन्धन टुटे एमसीसी पास गर्न सहयोग गर्ने भनेर खुलेआम बोल्दै आउनुभएको छ । के यो लोकतान्त्रिक तर्क हो ? यो सबै प्रतिगमनकै निरन्तरता हो ।’

अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीले प्रतिगमनकारी शक्तिहरुसँग सहकार्य गर्ने कोसिस गरिरहेको समेत आरोप लागएका छन् । उनले भने– ‘उहाँले जस्ता शक्तिहरुसँग सहकार्य गर्ने कोसिस गर्नु भएको छ, ती प्रतिगमनकारी शक्तिहरुसँग नै हुन् । म के देख्छु भने उहाँको त्यो निरन्तर प्रयास भइरहेको छ त्यसले तपाईं–हामी सबैलाई पनि नकारात्मक ढंगले सर्तक हुन मद्दत नै गरेको छ ।’

ओलीले प्रतिगमनकारी शक्तिहरुलाई एक ठाउँमा ल्याएर वर्तमान सत्ता गठबन्धन भत्काउन खोजेको भन्दै अध्यक्ष प्रचण्डले प्रतिगमनविरुद्ध निर्णायक संघर्षमा उत्रनेसमेत चेतावनी दिए । उनले भने– ‘हामी यो संविधानको रक्षाका निम्ति, गणतन्त्रको निम्ति, लोकतन्त्रको रक्षाको निम्ति, राष्ट्रियताको रक्षाको निम्ति गठबन्धनलाई अझ बलियो बनाएर अरु शक्तिलाई पनि गोलबन्द गराएर प्रतिगमनलाई परास्त गर्न निर्णायक ढंगले प्रस्तुत हुन्छौँ ।’

प्रतिक्रिया दिनुहोस्