Logo
Logo

अन्ततः देउवाले यसरी जिते


3.1k
Shares

काठमाडौं । नेपाली कांग्रेसको १४औँ महाधिवेशनबाट पुनः दोस्रो कार्यकालका लागि प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाको पक्षमा अमूल्य मत जाहेर गर्दै महाधिवेशन प्रतिनिधि घर फर्किसकेका छन् ।

बहुमत महाधिवेशन प्रतिनिधिको मतले पुरानो पुस्ताको नेतृत्व, नयाँ पुस्ताको बलियो उपस्थितिलाई अनुमोदन गरेको छ । कांग्रेसमा महाधिवेशन प्रतिनिधिमार्फत अनिवार्य ५० प्रतिशत भन्दा बढी मत पाएर जित्ने कुरा चानचुने होइन । महाविधेशन प्रतिनिधि भएर आउनलाई पनि एकजना कार्यकर्ताले चार चरणको चुनाव जित्नुपर्छ । एकजना महाधिवेशन प्रतिनिधि आफैमा कार्यकर्ताबाट अनुमोदित नेता नै हो । यही भएर नै कांग्रेस सभापति पार्टीमा एक किसिमले सर्वेसर्वा हुन्छ ।


पारिवारिक विरासतका रुपमा नभै नेतृत्वमा आफै आउनु देउवाको ठूलो शक्ति थियो । नयाँ परिवेशमा खारिएको अनुभव अनि नवजवानको प्रेरणाले मात्र आम कार्यकर्तामाझ उत्साह भर्ने विश्वास थियो । कांग्रेसमा रूपान्तरण परिपक्व अनुभव र नयाँ जोशको समिश्रणबाट मात्र सम्भव थियो । युवाको जोश र समावेशीकरणको अभावमा बलियो पार्टी बन्न सम्भव थिएन पनि ।

भविष्यको कांग्रेस बलियो देख्न सबैलाई समेटेर अझै फराकिलो ढंगले अघि बढ्नुपर्ने छ । मुलुकलाई अफ्ठ्यारोबाट बाहिर निकाल्नसक्ने खुवी भएको नेताका रुपमा देउवालाई सबैले विश्वास गरेको अबस्था छ । सबैमा समन्वयकारी भूमिका खेल्नसक्छन् र सन्तुलन कायम गर्न सक्छन् भन्ने विश्वास कांग्रेसभित्र मात्र नभै अन्य पार्टीमा समेत छ । ‘गिभ एण्ड टेक’ मा देउवा उदार रहेका कारण पनि यसरी भर परेको हुनसक्छ ।

कांग्रेसभित्र आम कार्यकर्ताले देउवालाइर्ए सहमति, सहकार्य र एकताको भावनालाई राम्ररी बुझ्ने नेताका रुपमा चिन्दछन् । देउवाले नै समन्वयकारी भूमिका खेल्न सक्छन् भन्ने गहिरो विश्वास छ । पटक–पटक कठिन समयमा देशको नेतृत्व सम्हालेका देउवाको लचकता एउटा छुट्टै विशेष गुण नै हो ।

कांग्रेसभित्र मात्र नभै अन्य पार्टीमा समेत यो विश्वास कायम छ । यद्यपि, कमीकमजोरी छँदै छैनन् भन्ने पनि होइन । महाधिवेशनको मुखमा कांग्रेस कार्यकर्ता मात्र नभै नागरिक तहसम्म कांग्रेस महाधिवेशनले कदाचित देउवाबाहेक अर्को सभापति चुन्यो भने कस्तो स्थिति आउला भन्ने चिन्ता र चासोको बिषय थियो ।

कांग्रेसमा प्रधानमन्त्री र पार्टी सभापति फरक व्यक्ति भएको वेला पार्टी संकटमा पुगेको विगत इतिहासले झस्काउनु अस्वाभाविक थिएन । नयाँ अनुहार नेतृत्वमा आउँदा सरकार परिवर्तनका लागि दबाब आउन सक्ने भएकाले फेरि मुलुक राजनीतिक अस्थिरतातर्फ धकेलिने चिन्ता पनि सँगसँगै नरहेको होइन । कांग्रेसकै नेतृत्वको सरकार रहेको स्थितिमा गठबन्धनलाई जोगाउँदै आम निर्वाचनसम्म लैजानुपर्ने गहन जिम्मेवारी थियो । महाधिवेशन प्रतिनिधिले स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनमा सफलता हासिल गर्न परिपक्व एवम् अनुभवी नेतृत्वको आवश्यकता देखे ।

सभापतिको प्रतिस्पर्धामा उभिएका व्यक्तित्वलाई न्यायको तुलोमा जोखे । अन्तिममा पार्टी हित अनि मुलुकको दीर्घकालिन भविष्यका लागि देउवा नै पुनः सभापति हुनुपर्ने अपरिहार्यता ठाने । आजको राजनीतिक संक्रमणकाललाई पार लगाउन पाको नेता नै चाहिन्छ भन्ने निक्र्योल गरे । काँचो नेतृत्वलाई विश्वास गरिहाल्न सकेनन् ।

र, बलियो र एकताबद्ध कांग्रेस लामो अनुभव प्राप्त नेताबाट मात्रै सम्भव छ भनेर देउवाको पक्षमा बलियो मत जाहेर गरे । अन्ततः देउवा फेरि एकपल्ट नेपाली कांग्रेसको मात्र नभै तत्कालिक नेपाली राजनीतिको मियो (सरकारका सन्दर्भ) का रुपमा स्थापित हुन पुगे । यसरी देउवा कोइराला परिवार बाहिरबाट कांग्रेसमा दोस्रोपल्ट सभापति बन्न सफल भए ।

मुलुकका प्रायः सबै प्रमुख पार्टी टुक्रिँदा पनि कांग्रेसलाई एकगठ बनाएर लैजान सक्नु देउवाका लागि ठूलो उपलब्धिको बिषय रह्यो । कांग्रेसभित्र मात्र नभै गठबन्धनका अन्य दलहरूले पनि निश्पक्ष निर्वाचनको अभिभारा पुरा गर्न देउवामाथि नै भर गरेको अवस्था छ । यतिवेला गठबन्धनका आधारमा प्रदेशहरूमा नयाँ सरकार बनेका छन् ।

संसदमा केबल ६३ सिट मात्र रहेको कांग्रेसले १६५ जना सांसदको विश्वास जितेर सरकारको नेतृत्वमा पुग्नु चानचुने सफलताको बिषय थिएन । कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपाका दुवै खेमा र राजमोलाई समेत एकठाउ“मा उभ्याउन सक्नु देउवाप्रतिको विश्वासकै प्रतिफल थियो । यस महाधिवेशनमा देउवालाई सरकारमा संलग्न राजनीतिक दलको समेत गहिरो सहानुभूति रह्यो । जस्ले गर्दा अघि बढ्न बाहिरी बल प्राप्त भयो ।

प्रदेश सरकारको नेतृत्वमा शुन्य रहेको कांग्रेसले कर्णाली र गण्डकीमा नेतृत्व गर्न सफल भएको छ । अन्य प्रदेशमा पनि कांग्रेस सत्तासाझेदारीमा छ । सर्वोच्च अदालतद्वारा संसद पुनःस्थापनापछि कांग्रेसको नेतृत्वमा मुलुकको भद्रगोल र व्यथितिपूर्ण राजनीति ट्रयाकमा आएको छ । यतिबेला देउवाको नेतृत्वलाई सिङ्गो मुलुकले नै स्वीकार गरेको अबस्था छ । पाँचदशक लामो राजनीतिक संघर्षबाट खारिएका पाका नेताबाट बाँकी दिनमा अन्यथा हुनसक्ने ठाउँ पनि छैन ।

बहुमतका आधारमा नभै कांग्रेसमा सहमति र सहकार्यबाटै अघि बढ्नुपर्छ भन्ने मान्यताले काम गरेको थियो । यसर्थ पनि देउवाप्रतिको विश्वास र भरोसामा कांग्रेसजनमा कुनै कमी नआएको महाधिवेशनको मत परिणामबाट पुष्टि भएको छ ।

दुखद् पक्ष नै भन्नुपर्छ, भएका उपलब्धी र राम्रा पक्षलाई अनदेखा गर्दै कांग्रेस भित्रैका कतिपय वुद्धिजीवि नामधारी व्यक्तिले महाधिवेशनको मुखमा एकोहोरो आरोपको खेती गरेकै हुन् । नानातरहका निहुँ उधिनेर हिलो छ्याप्ने सुनियोजित कर्म भयो ।

गोयवल्स शैलीमा हुर्मत काढ्ने काम भयो । जता हेरे पनि पहेँलै देख्ने एकै खालका पात्रले विरोधमा अनौठो चर्तिकला नै देखाए । मिडियामार्फत भ्रामक सर्वेक्षणका अनेक प्रपञ्च रचिए । अन्ततः महाधिवेशनप्रतिनिधिको मतका सामु ति सबै घामको प्रकाशमा पानीको फोका विलाए जसरी हराए । यस्ता बुद्धिजीविको विचार र प्रक्षेपणको धन्दा ‘विद्वानले नलिने, मुर्खलाई नचाहिने’ अबस्थामा पुगेर विसर्जन भयो ।

यति मात्र होइन वरिष्ठ अग्रज नेता रामचन्द्र पौडेल–शशांक कोइरालाले समेत देउवाको उपस्थितिलाई कम आँक्न सकेनन् र अन्तिममा बल दिए । सभापतिका प्रत्याशी प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङको साथ पाएर देउवा आठ सय ७८ मतान्तरले विजयी भए । सभापति मात्र नभै पदाधिकारीमा देखिएको बहुमतले पनि कांग्रेसमा देउवाको हैषियत पुनःपुष्टि गरेको छ ।

निर्वाचनको पूर्वसन्ध्यामा रामचन्द्र पौडेल, शशांक कोइरालादेखि प्रकाशमान सिंहसम्मको एकछत्र समर्थन जुटाउन सक्नु देउवाको कुटनीतिक चातुर्यता त हुँदै हो, सँगसँगै यो उनीप्रतिको विश्वास र भरोसा पनि हो । बरु कांग्रेस न कसैको विरासत, न आशिर्वादले चल्छ भन्ने सच्याइलाई एकपाने बुद्धिजीविले बुझपचाएकै हुन् । कांग्रेस जस्तो सात दशक लामो इतिहास बोकेको जिवन्त पार्टी आम कार्यकर्ताको भावनाले मात्र अघि बढ्न सम्भव छ ।

कुनै पनि पार्टी अग्रजको सम्मान्, समकक्षीको व्यवस्थापन र युवाको प्रोत्साहनले मात्र दरिलो बन्न सक्छ । महाधिवेशनमा आम प्रतिनिधिले पाको अनुभव र युवाको उर्जा भन्ने तथ्यलाई अनुमोदन गरेका छन् । हुन पनि यी दुईको संयोगले नै कांग्रेसलाई निःसन्देह गतिशील बनाउने छ । मिडियाको आलोचनालाई ‘पव्लिक अडिट’ र विरोधीको आलोचनालाई लोकतन्त्रको गहना मान्ने देउवालाई अब लिनु दिनु केही छैन ।

विरोधी र सबै पक्षका आवाज सुनेर कांग्रेसलाई फेरि नयाँ उचाईँ दिने विश्वास गरौं । पक्कै पनि ‘हाम्रा मान्छे भन्दा, राम्रा मान्छे’ ले पार्टीमा सही ठाउँ पाउने छन् । नेतृत्वले गल्ती गर्दा सुधारका लागि सकारात्मक गाली र राम्रो गर्दा स्नेहका तालीले मात्र पार्टीलाई पुनर्ताजगी गर्ने छ । न की विरोधका लागि विरोधले ।

लोकतन्त्रमा सहमति, सहकार्य र समन्वयले नै राष्ट्रिय एकताको भावना जगाउँछ । यो मान्यतामा देउवा सदैव दृढ छन् । कांंग्रेसका लागि यो क्षण विशिष्ट अवसरको रुपमा रहेको छ । स्थानीय निर्वाचन र आम चुनाव सम्पन्न गर्ने गहनतम् जिम्मेवारीलाई सफलतापूर्वक सम्पन्न गरेर कांग्रेसलाई पुरानै हैसियतमा पु¥याउने देउवाको अठोटलाई महाधिवेशनमा प्रतिनिधिले विश्वास गरेकै हुन् ।

कांग्रेसजनलाई आज चाहिएको बलियो कांग्रेसका साथमा राजनीतिक स्थिरता, विकास र समृद्धि नै हो । मुलुकमा नयाँ संविधान जारी भएपछि तिनै तहको चुनाव कुशलतापूर्वक सम्पन्न गरी संविधानको सफल कार्यान्वयन देउवाबाटै सम्पन्न भएको थियो । आम चुनावपछि नै विथोलिएको राजनीतिले अहिले सही ‘ट्रयाक’ लिएको हो । मुलुकको राजनीतिलाई लिकमा ल्याउन देउवाले खेलेको भूमिकालाई महाधिवेशनको जनमतले फेरि एकपल्ट मूल्याङ्कन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्