Logo
Logo

एकै दिन चार भवन उद्घाटन


1.1k
Shares

म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमको किसानी मावि र प्राविधिक शिक्षालयमा निर्माण भएको चारवटा भवनको सोमबार एकैदिन उद्घाटन भएको छ ।

रु एक करोड ७६ लाख लागतमा लायन्स क्लबको अन्तर्राष्ट्रिय कोषले किसानी प्राविधिक शिक्षालयमा फर्निचरसहित तीनतले, आठकोठे भवन र शौचालय निर्माण गरेको छ । सो भवनको लायन्स क्लबका पूर्व अन्तर्राष्ट्रिय निर्देशक सञ्जय खेतानले उद्घाटन गर्नुभएको लायन्स अभियानकर्मी सन्तोष रावलले जानकारी दिनुभयो ।

दुईतले भूकम्प प्रतिरोधी क्षमताको भवन अपाङ्गमैत्री छ । बाली र पशु विज्ञान विषयमा डिप्लोमा तहसम्मको पठनपाठन हुने शिक्षालयमा २०७ विद्यार्थी रहेका प्रमुख करन कँडेलले बताउनुभयो । लायन्स क्लबले यसअघि सिभिल इञ्जीनियरिङ विषयको पढाइ हुने बेनी नगरपालिका–९ तोरीपानीको गलेश्वर माध्यमिक विद्यालयमा आठकोठे भवन निर्माण गरेको थियो ।

बाँकी तीनवटा किसानी माविको कक्षा कोठा भवन तत्कालीन शिक्षा कार्यालय, राष्ट्रिय पुनःनिर्माण प्राधिकरण र मालिका गाउँपालिकाको सहयोगमा निर्माण भएको हो । एउटा चारकोठे भवनको नेकपा एमालेका उपमहासचिव तथा गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले, १० कोठे भवन पूर्व सामाजिक विकासमन्त्री नरदेवी पुन र अर्को चारकोठे भवन शिक्षक महासङ्घका पूर्वअध्यक्ष बाबुराम थापाले उद्घाटन गर्नुभएको थियो ।

चारकोठे भवन निर्माणका लागि शिक्षा कार्यालयले रु ३५ लाख र अर्को चारकोठे भवन बनाउन राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले रु ७० लाख उपलब्ध गराएको थियो । मालिका गाउँपालिकाको सहयोगमा बनेको १० कोठे तीनतले भवन निर्माणको लागत विवरण माग्दा विद्यालयका प्रअ जङ्गबहादुर गर्बुजाले फोन उठाउनुभएन । साधारणतर्फ कक्षा १२ सम्मको पढाइ हुने किसानी माविमा ५०० भन्दा बढी विद्यार्थी छन् । भवन उद्घाटन कार्यक्रममा पूर्वमुख्यमन्त्री गुरुङले गुणस्तरीय शिक्षाका लागि प्राविधिक शिक्षालयमा पर्याप्त र दक्ष जनशक्ति व्यवस्थापन गर्नुपर्ने बताउनुभयो ।

वर्तमान गठबन्धन सरकारले एक घर एक धारा, उज्यालो प्रदेश, पालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति, नमूना तथा आवासीय विद्यालय कार्यक्रमको बजेट कटौती गरेको भन्दै असन्तुष्टि जनाउनुभयो । कार्यक्रममा एमालेका गण्डकी प्रदेश अध्यक्ष नवराज शर्मा, मालिका गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोका, उपाध्यक्ष खरमाया बिटालु, वडाध्यक्ष रेशम जुग्जालीलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्