काठमाडौं । संविधान ध्वस्त पार्ने षडयन्त्र, सामान्त गोयलसँग मध्यरातमा भएको भेट, दंभ, अहंकार र घमण्डले बालुवाटारबाट बालकोटको बार्दलीमा बर्वराउने अवस्थामा पुगेका केपी शर्मा ओलीको शक्ति थप क्षय हुँदै छ । संघीय सरकार र प्रदेश सरकारबाट पुरै बाहिरिएको नेकपा (एमाले)ले आगामी फागुन २० गतेबाट राष्ट्रिय सभाको सांसद पनि गुमाउँदै छ ।
आगामी २० फागुनमा २० सांसद चारवर्षे कार्यकाल पूरा गरी बिदा हुँदैछन् । नेकपा (एमाले)का आठ, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)का चार–चार, नेपाली कांग्रेसका तीन र मनोनीत एक सांसद बाहिरिने छन् । २० मध्ये १९ जनाका लागि निर्वाचन हुने छ । सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत रामनारायण विडारीको स्थानमा भने सोही अनुसार मनोनीत हुने छ ।
पदरिक्त हुने ३५ दिनअगावै निर्वाचन गरेर पदपूर्ति गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार १२ माघमा निर्वाचन हँदै छ । उक्त निर्वाचनमा सत्तारुढ गठनबन्धनका दलहरू कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले गठबन्धन गर्ने निर्णय गरिसकेका छन् । यो गठबन्धनले विगतको राष्ट्रिय सभा उपनिर्वाचनमा पनि परिणाम दिएको थियो । तत्कालिन एमाले वरिष्ठ नेता माधवकुमार नेपालको प्रस्तावमा डा. खिमलाल देवकोटा बागमती प्रदेशबाट गठबन्धनको साझा उम्मेदवारको रुपमा कलम चुनाव चिह्नबाट निर्वाचित भएर राष्ट्रिय सभा सदस्यको रुपमा क्रियाशील छन् ।
देवकोटाले जितेको कलम चुनाव चिह्न अहिले नेकपा (एकीकृत समाजवादी) ले लिएको छ । एमाले विभाजित नभएको र बागमती प्रदेशमा राम्रो पकड भएको स्थितिमा समेत सूर्य चुनाव चिह्न लिएर उम्मेदवार बनेका रामबहादुर थापालाई कमल चिह्न लिएका स्वतन्त्र उम्मेदवार देउवकोटाले हराएका थिए । अबको चुनावमा पनि गठबन्धन र एमालेको हैसियत उपनिर्वाचनकै जस्तो हुने विश्लेषकहरूले बताएका छन् । यस्तो अवस्थामा गठबन्धन दलहरूको सिट संख्या बढ्ने छ भने एमालेको घट्ने निश्चित छ । यद्यपि, सत्तारुढ दलहरूले सिट बाँडफाँट भने गरिसकेका छैनन् ।
कुन प्रदेशमा कस्तो स्थिति ?
राष्ट्रिय सभा निर्वाचन ऐनअनुसार प्रदेश सभा सदस्यको मतभार ४८ तथा स्थानीय तहका प्रमुख र उपप्रमुख, अध्यक्ष र उपाध्यक्षको मतभार १८ हुन्छ । सात मध्ये ६ वटा प्रदेशमा सत्ता–गठबन्धनभन्दा एमालेको मतभारमा धेरै न्यून छ । प्रदेश १ मा भने झिनो मतभारले एमाले अगाडि देखिएको छ । प्रदेश १ मा अन्य साना दल निर्णायक देखिएका छन् । सत्तागठबन्धन दलहरूले प्रदेश १ मा साना दललाई मिलाउने हो भने आगामी राष्ट्रिय सभा निर्वाचनमा एमाले शुन्य सिटमा खुम्चिने छ ।
प्रदेश १ मा गठबन्धनको मतभार चार हजार चार सय ६४ छ । एमालेको चार हजार पाँच सय ४२ छ र अन्य दलहरूको मतभार तीन सय ४२ छ । प्रदेश २ मा गठबन्धन धेरै बलियो छ । गठबन्धनको मतभार सात हजार एक सय ९४ छ भने एमालेको मतभार नौ सय ४२ मात्र छ । अन्य दलको मतभार एक हजार ७ सय ५२ छ ।
एक्लै बहुमतको सरकार चलाएको बागमती प्रदेशमा पनि अहिले एमालेको उपस्थिति कमजोर छ । बागमतीमा गठबन्धनको मतभार चार हजार आठ सय ९० छ भने एमालेको मतभार चार हजार एक सय ५२ छ । अन्यको मतभार चार सय ७४ छ ।
गण्डकी प्रदेशमा पनि गठबन्धन बलियो छ । गठबन्धनसँग तीन हजार एक सय ८० मतभार छ भने एमालेसँग दुई हजार पाँच सय ३८ मात्रै मतभार छ । अन्यसँग एक सय ५६ मतभार छ ।
लुम्बिनी प्रदेशमा पनि गठबन्धन बलियो छ । एमालेको मतभार तीन हजार दुई सय ७६ छ भने गठबन्धनको मतभार चार हजार दुई सय ६ छ । अन्यको मतभार दुई सय ७८ छ ।
कर्णाली प्रदेशमा एमालेभन्दा दोब्बर मतभारले गठबन्धन अगाडि छ । एमालेको मतभार एक हजार चार सय ३४ छ भने गठबन्धनको दुई हजार आठ सय ९८ छ । अन्यको मतभार एक सय ९२ छ । सुदूरपश्चिम प्रदेशमा एमालेको मतभार एक हजार सात सय ८८ छ भने गठबन्धनको तीन हजार पाँच सय २५ छ । अन्यको मतभार ८४ मात्रै छ ।
कुन प्रदेशबाट को–को बिदा हुँदैछन् ?
कार्यकाल सकिनेमध्ये प्रदेश १ बाट निर्वाचित तीनजना सांसद छन् । अगमप्रसाद बान्तवा राई, नैनकला ओझा र परशुराम मेघी गुरुङ तीनैजना एमाले सांसद हुन् । प्रदेश २ बाट एमालेका सुमनराज प्याकुरेल र माओवादी केन्द्रकी शशीकला दाहाल पनि बिदा हुँदैछन् ।
बागमतीबाट कांग्रेसका राधेश्याम अधिकारी र एकीकृत समाजवादीकी उदया शर्मा पौडेल बिदा हुँदै छन् । गण्डकीबाट माओवादी केन्द्रका दीनानाथ शर्मा र खिमकुमार विक तथा एकीकृत समाजवादीकी शान्तिकुमारी अधिकारी बिदा हुँदैछन् ।
लुम्बिनीबाट एमालेकी कोमल वली र रामलखन चमार तथा कांग्रेसका दृगनारायण पाण्डे बिदा हुँदैछन् । केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि एमाले लुम्बिनीका प्रदेश सांसद पाण्डेले राजीनामा दिएका थिए । केही समयपछि भएको उपनिर्वाचनमा पाण्डे कांग्रेसबाट गठबन्धनको तर्फबाट निर्वाचित भएका थिए ।
कर्णालीबाट एमालेकी कविता बोगटी, माओवादी केन्द्रकाजीवन बुढा र एकीकृत समाजवादीका ठगेन्द्रप्रकाश पुरी बिदा हुँदै छन् ।
सुदूरपश्चिमबाट एमालेका चक्रप्रसाद स्नेही, कांग्रेसका तारादेवी भट्ट र एकीकृत समाजवादीका शेरबहादुर कुँवर बिदा हुँदै छन् । मनोनीत सांसद रामनारायण बिडारी पनि बिदा हुँदै छन् । कानुन व्यवसायीसमेत रहेका बिडारी माओवादी नेता हुन् ।
टुंगिए मतदाता र मतदानस्थल
निर्वाचन आयोगले मतदाता संख्या र केन्द्र टुंग्याइसकेको छ । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख–उपप्रमुख मतदाता हुन् । कुल मतदाता दुई हजार २५ जना छन् । जसमध्ये प्रदेश सभा सदस्य पाँच सय ३२ तथा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरका प्रमुख तथा उपप्रमुख एक हजार चार सय ९३ जना रहेको आयोगले जनाएको छ ।
आयोगले सबै प्रदेशमा मतदानस्थल पनि तोकिसकेको छ । प्रदेश १ मा दुईवटा मतदान स्थल छन् भने अन्य ६ वटा प्रदेशमा एक–एकवटा मतदानस्थलभित्र दुई–दुईवटा केन्द्र रहने गरी आठवटा मतदानस्थलमा १४ वटा केन्द्र तोकिएका छन् । प्रदेश १ मा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष एवं नगरपालिका प्रमुख तथा उपप्रमुखका लागि प्रदेश निर्वाचन कार्यालय, विराटनगर र प्रदेश सभा सदस्यहरूका लागि बाली संरक्षण प्रयोगशाला, विराटनगरमा मतदान स्थल तोकिएको छ । प्रदेश २ का लागि जनकपुरस्थित महेन्द्रनारायण निधि भवन र बागमती प्रदेशका लागि औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सभागृहमा मतदानस्थल तोकिएको छ ।
गण्डकी प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, पोखरा, लुम्बिनी प्रदेशका लागि कर्मचारी मिलन केन्द्र, दाङ, कर्णाली प्रदेशका लागि प्रदेश निर्वाचन कार्यालय, सुर्खेत र सुदूरपश्चिम प्रदेशका लागि प्रदेश सभा भवन, धनगढीमा मतदानस्थल रहने गरी तोकिएको छ ।
निर्वाचन प्रयोजनका लागि पुस १० गतेसम्मद दल दर्ता गरिसक्नुपर्छ । दर्ताका लागि दलको विवरण, दलको केन्द्रीय कार्यकारिणी समितिको पदाधिकारी र सदस्य संख्या, वार्षिक लेखापरीक्षण प्रतिवेदन, केन्द्रीयस्तर र प्रदेशस्तरको कार्यकारिणी समितिको पछिल्लो निर्वाचन मिति, सांगठनिक स्वरूपलगायतका जानकारी आवश्यक पर्ने आयोगले जनाएको छ ।
निर्वाचन कार्यतालिका
आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिका अनुसार पुस १० गतेसम्म दल दर्ता गरिसक्नुपर्ने छ । पुस १७ गते मतदाता नामावली प्रकाशन, पुस १९ गते अन्तिम नामावली प्रकाशन, पुस २० गते उम्मेदवारको मनोनयनपत्र दर्ता र पुस २४ गते मनोनयन फिर्ता लिने समय आयोगले निर्धारण गरेको छ । पुस २५ गते उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ भने माघ १२ गते निर्वाचन हुनेछ ।