Logo
Logo

माओवादीले राष्ट्रिय सम्मेलनमार्फत नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने


3.3k
Shares

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले पार्टीको प्रथम राष्ट्रिय सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । पार्टी हेडक्वार्टर पेरिसडाँडामा आज आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता कृष्णबहादुर महराले राजनीतिक, वैचारिक र प्राविधिक तयारी पूरा भएको जानकारी दिए ।

चिनियाँ क्रान्तिका नायक माओको जन्मजयन्तीको सन्दर्भ पारेर माओवादीले यही पुस ११ देखि १३ सम्म राष्ट्रिय सम्मेलन आयोजना गर्नेभएको छ । माओ दिवस यही पुस ११ गते परेको छ । राष्ट्रिय सम्मेलन राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुनेछ ।

प्रवक्ता महराले नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि सम्पूर्ण पार्टी पङ्क्तिलाई त्यसतर्फ निर्देशित गर्ने उद्देश्यका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन लेख्दै गरेको जानकारी दिए ।

अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन स्थायी समिति बैठकले अनुमोदन गरेपछि मात्र राष्ट्रिय सम्मेलनमा पेश हुनेछ । महाधिवशेन र राष्ट्रिय सम्मेलन फरक हुने भन्दै उनले राष्ट्रिय सम्मेलनले विचार र पार्टी निर्माण गर्ने
बताए ।

‘नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माण गर्ने राष्ट्रिय सम्मेलनको मुख्य उद्देश्य हो, २१औँ शताब्दीसम्म आइपुग्दा धेरै परिवर्तन भएका छन’, उनले भने, ‘विश्व साम्राज्यवादले लिएको नयाँ रुपलाई परास्त गर्न नयाँ क्रान्तिकारी विचार र पार्टीको आवश्यकता छ ।’

सम्मेलनमा पार्टीको राजनीतिक वैचारिक अवस्थाका बारेमा गम्भीर ढंगले समीक्षा हुने उनले बताए । ‘सामन्तवादको अवशेष उखेलेर फाल्ने ढंगबाट माओवादीको नेतृत्वमा जनयुद्ध भयो, २०६४ सालको निर्वाचनमा आम जनताको विश्वास जितेको पार्टी अहिले यो अवस्थामा आइपुगेको छ’, उनले भने, ‘हिजो हामी कसरी बलियो भयौँ, आज किन कमजोर भयौँ भनेर समीक्षा हुनेछ ।’

सम्मेलनमार्फत फरक ढंगबाट पार्टी निर्माण गर्ने संकल्प लिइने उहाँले बताउनुभयो । क्रातिको नयाँ कार्यभार तथा नेपाली जनताको आकांक्षा पूरा गर्न नयाँ पार्टीको आवश्यकता रहेको भन्दै उनले सम्मेलनले त्यसतर्फ अविचलितरुपमा लाग्ने पार्टी निर्माण गर्ने बताए ।

सम्मेलनको लोगो सार्वजनिक

पत्रकार सम्मेलनमार्फत माओवादीको प्रथम राष्ट्रिय सम्मेलनको लोगो सार्वजनिक गरिएको छ । लोगोमा ‘नयाँ क्रान्तिकारी विचार र पार्टी निर्माणका लागि ऐतिहासिक प्रथम राष्ट्रिय सम्मेलन’ नारा लेखिएको छ । लोगोभित्र विश्व कम्युनिष्ट आन्दोलनका अग्रज नेताको प्रतीक राखिएको छ । यस्तै पार्टीको झण्डा र निर्वाचन चिह्न राखिएको छ ।

प्रतिक्रिया दिनुहोस्