Logo
Logo

देउवा र निधि, कोइराला समूहगत प्रतिस्पर्धामा पाँच जना निर्विरोध निर्वाचित


3.4k
Shares

काठमाडौं । नेपाली कांग्रेस प्रदेश २ को अधिवेशनमा पाँच जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

कांग्रेस प्रदेश निर्वाचन समितिका संयोजक प्रह्लाद गौतमका अनुसार प्रदेश २ अधिवेशनमा पाँच जना निर्विरोध निर्वाचित भएका हुन् ।

प्रदेश सदस्य खुलामा आशाराम चौधरी (सप्तरी) र महिला खुला सदस्यमा विमलादेवी साह (सप्तरी) तथा उषा देवकोटा (महोत्तरी) निर्विरोध निर्वाचित भएका हुन् ।

त्यस्तै प्रदेश सदस्यमा मधेसी महिलातर्फ किरण कुमारी (पर्सा) र प्रदेश सदस्य आदिवासी जनजातिमा मनमाया तामाङ्नी निर्विरोध निर्वाचित भएका छन् ।

प्रदेश २ को अस्थायी राजधानी जनकपुरधाममा जारी कांग्रेस प्रदेश अधिवेशनमा ७२ पदका लागि १ सय ८० जनाले उम्मेदवारी दर्ता गराएका थिए । जसमध्ये पाँच जना निर्विरोध निर्वाचित भएको निर्वाच समितिका संयोजक गौतमले बताए ।

प्रदेश सभापतिमा २ जना, उपसभापति २ पदका लागि ५ जना, महामन्त्री २ पदका लागि ५ जना, सहमहामन्त्री पुरुष २ पदका लगि ८ जना र सहमहामन्त्री महिला १ पदका लागि ३ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।

कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा समूहबाट प्रदेश सभापतिमा कृष्ण यादव र कांग्रेस पूर्व उपसभापति विमलेन्द्र निधि समूहबाट प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्रीसमेत रहेका रामसरोज यादवले प्रदेश सभापतिका लागि उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेश २ निधि र शेखर कोइराला समूहको एक प्यानल छ भने देउवाको अर्को छुटै प्यानल रहेको छ । देउवा समूह र निधि–कोइराला समूहले प्रदेश अधिवेशनका लागि छुट्टाछुट्टै प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका हुन् ।

कांग्रेसको १४औं महाधिवेशनमा सभापतिका उम्मेदवार समेत रहेका निधिले दोस्रो चरणको निर्वाचिनमा देउवालाई समर्थन गरेका थिए । दोस्रो चरणको निर्वाचनमा कोइरालालाई समर्थन नगरेका निधिलाई प्रदेश २ मा निधि र कोइरालाको एउटै समूह बन्नुले निर्वाचन झन रोचक र प्रतिष्ठाको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्