Logo
Logo

एमसीसी कार्यदलको बैठक सम्पन्न, पुराना दस्तावेज खोजिने


7.6k
Shares

काठमाडौं । अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताबारे अध्ययन गर्न सत्तारुढ पाँचदलीय गठबन्धनले गठन गरेको तीन सदस्यीय कार्यदलले पहिलो बैठक आज बसेको छ ।

कार्यदलका संयोजक तथा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनालको निवास डल्लुमा कार्यदलको पहिलो बैठक बसेको हो । बैठकले पुराना दस्तावेज खोजेर अध्ययन गर्ने निष्कर्ष निकाल्दै प्रमुख प्रतिपक्षी एमालेसँग समेत छलफल गरेर सहमती जुटाउने जिम्मेवारी पाएको छ ।

बैठक बसेर कार्यदलले गर्ने कामबारे खाका बनाउने कार्यको थालनी भएको एक नेताले बताए । पुस ४ मा बसेको सत्तारुढ दलको बैठकले पूर्वप्रधानमन्त्री समेत रहेका खनालको नेतृत्वमा नेपाली कांग्रेसका नेता तथा सञ्चारमन्त्री ज्ञानेन्द्र बहादुर कार्की र माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ सदस्य रहेको कार्यदल गठन गरेको थियो ।

संयोजक खनालले कार्यदलको बैठक बसेको र अध्ययन गरेर सरकारलाई सुझावसहितको प्रतिवेदन बुझाउने बताए । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले एमसीसी सम्झौता सम्बन्धनी कतिपय दस्तावेज लुकाएकाले ती सबै दस्तावेज खोजेर अध्ययन गरिने उनले बताए ।

तत्कालिन नेकपाले नेता खनालको संयोजकत्वमा समेत एमसीसीको बारेमा अध्ययन गर्न एक कार्यदल गठन गरेको थियो । सो कार्यदलको सदस्यमा नेता भीम रावल र प्रदिप ज्ञवाली थिए । सो कार्यदलले तत्कालिन नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो ।

सो प्रतिवेदनमा एमसीसी सम्झौता यथास्थितिमै स्वीकार गर्न नसकिने भन्दै त्यसका सर्तहरु संशोधन हुनुपर्ने सुझाव कार्यदलले दिएको थियो । तर तत्कालिन प्रधानमन्त्री ओली र कांग्रेस सभापति (हाल प्रधानमन्त्री) शेरबहादुर देउवाले जसरी पनि एमसीसी सम्झौता संसदबाट पारित गर्नुपर्ने रणनीतिमा रहेका थिए । ओली र देउवाबीच यस विषयमा पटकपटक छलफल समेत भएको थियो ।

अहिलेको पाँच दलीय गठबन्धनमा रहेका कांग्रेस बाहेक सबै दलले एमसीसी सम्झौताका सर्तहरु संशोधन गरेर पारित गर्नुपर्ने अडानमा छन् । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले एमसीसी सम्झौताका सर्तहरु संशोधन गर्नुपर्ने अडानमा छन् ।

प्रतिक्रिया दिनुहोस्