Logo
Logo

वैज्ञानिक खोज अनुसन्धान सम्बन्धी अन्तर्राष्ट्रिय पाठशाला सुरु


63
Shares

भक्तपुर । भक्तपुरमा वैज्ञानिक खोज अनुसन्धान सम्बन्धी ११ दिने अन्तर्राष्ट्रिय पाठशाला (कार्यशाला) सुरु भएको छ । भक्तपुरको लिवालीस्थित ख्वप इन्जिनियरिंग कलेजमा तेश्रो नेपाल हिउँदे पाठशाला सुरु भएको हो ।

ख्वप इन्जिनियरिंग कलेजको व्यवस्थापन र नामी नामक वैज्ञानिक खोज अनुसन्धान गर्ने गैरनाफामुखी गैर सरकारी संस्थाको आयोजनामा पाठशाला सुरु भएको छ ।

पाठशालामा देशी विदेशी एक सय २० जना प्रशिक्षार्थीहरु सहभागी छन्। उनीहरु न्यूनतम स्नातक उत्तीर्णदेखि पीएचडीसम्मका छन् । उनीहरुलाई विश्वका विभिन्न देशका ३० जना वैज्ञानिकहरुले प्रशिक्षण दिइरहेका छन् । प्रत्येक दिन विहानदेखि बेलुकीसम्म बीचबीचमा ब्रेक गरेर ११ दिनसम्म प्रशिक्षण दिइने जनाइएको छ ।

आयोजक संस्था नामीका इन्जिनियर श्रेयासा पौडेलले संस्थाले वर्षमा एक पटक यस्तो पाठशाला चलाउँदै आएको जानकारी गराइन् । उनका अनुसार यो तेश्रो वर्षको तेश्रो पाठशाला हो । यस पाठशालामा विश्वका विभिन्न वैज्ञानिकहरुले सहभागीहरुलाई वैज्ञानिक खोज अनुसन्धान सम्बन्धी जानकराी दिई त्यसका लागि सहयोग गर्ने जानकारी गराइन्। वैज्ञानिक खोज अनुसन्धानमा लाग्ने व्यक्ति तथा संस्थालाई सहयोग गर्न यस्तो पाठशाला चलाउँदै आएको उनले जनाइन् ।

ख्वप इन्जिनियरिंग कलेजका ई उपप्राचार्य रवीन्द्र फोंजूले विकशित देशहरुसँगै विकासोन्मुख देशहरु पनि वैज्ञानिक खोज अनुसन्धानमा अगाडि बढाउन यस्तो कार्यक्रम गरिएको जानकारी गराए । कृत्रिम बौद्धिकता (आर्टिफिसियल इन्टेलिजेन्स) नाम दिइएको यो पाठशालामा नयाँनयाँं अनुसन्धानबारे शोधपत्र निकालिने जानकारी गराए ।

आयोजक नामी संस्थाका अनुसन्धानकर्ता दण्डपानी पौडेलले कृत्रिम बौद्धिकतालाई पाठशालामा सही ढंगले उपयोग गर्ने विषयमा छलफल चलाइने बताए । यसअघि पाठशालाको उद्घाटन गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले देश विकासको मूल आधार भनेको त्यस देशको विज्ञान तथा प्रविधिको समुन्नत विकास भएको बताउँदै विकसित देशहरुको विकास र समृद्धिमा अनुसन्धानले महत्वपूर्ण भूमिका खेलेको बताए ।

कार्यक्रममा ख्वप इन्जिनियरिंग कलेजका प्राचार्य सुजन माकले भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप ई. कलेज र ख्वप कलेज अफ ई.को संक्षिप्त प्रगति विवरण प्रस्तुत गरेका थिए । काठमाडौं विश्वविद्यालयका डीन डा. मनिस पोखरेलले कृत्रिम बौद्धिकता कम्प्युटर इन्जिनियरहरुको लागि मात्र नभई सबै क्षेत्रको लागि आवश्यक भएको बताए ।

प्रतिक्रिया दिनुहोस्