Logo
Logo

जिल्ला दौडाहामा एमाले अध्यक्ष ओली


1k
Shares

काठमाडौं । सत्ता बहिर्गमन तथा पार्टी विभाजन पश्चात नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली जिल्ला दौडाहा लागेका छन् ।

गत पुस ६ गते कपिलबस्तु पुगेका ओली आज पर्सा जिल्ला पुगेका छन् । पार्टीको तीन महिने अभियान अनुसार उनले कपिलबस्तु पुगेर जसपा नेता मंगल गुप्तालाई एमालेमा प्रवेश गराए ।

पर्साको जगरनाथपुर पुगेका अध्यक्ष ओली जगरनाथपुर गाउँपालिका प्रमुख एवं माओवादी नेता जालीम मियाँलाई एमालेमा प्रवेश गराएका छन् । पुस १० गते उनी गृह जिल्ला झापा जाने कार्यक्रम रहेको एमाले प्रचार बिभागका उपप्रमुख विष्णु रिजालले बताए ।

कपिलबस्तु र पर्सा पुगेका ओलीले गुप्ता र मियाँसंगै स्थानीय नेताकार्यकर्तालाई समेत एमालेमा प्रवेश गराएका छन् । एमालेको १०औं महाधिवेशन सम्पन्न भएपछि बसेको दोस्रो केन्द्रीय कमिटी बैठकले फागुन महिनासम्म तीन महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको थियो ।

सोही निर्णय अनुसार एमाले परित्याग गरेका, बिभिन्न पार्टी रहेका नेताहरुले एमालेको बिचार, सिद्धान्त स्वीकार गर्नेलाई एमालेमा प्रवेश गराउँने अभियान अनुसार ओली देश दौडाहामा रहेको प्रचार विभागका उपप्रमुख रिमालले बताए ।

पर्सा, कपिलबस्तु पुग्नुभन्दा अघि अध्यक्ष ओली पश्चिमका बिभिन्न जिल्लामा पुगेका थिए । पार्टीको जिल्ला अधिवेशन पुस २३ गते र प्रदेश अधिवेशन माघ ८ गते हुने मिति तोकिसकेको एमालेले यस बीचमा महाधिवेशनको सन्देश लिएर बिभिन्न कार्यक्रम गर्ने तयारी समेत गरेको छ ।

ओली कपिलवस्तु जानुअघि लुम्बिनी प्रदेशको बाँकेका केही प्रभावशाली नेतालाई नेपालगन्ज पुगेर पार्टी प्रवेश गराएका थिए । स्वतन्त्र समूहका नेता पशुपति दयाल मिश्र, तत्कालिन फोरम लोकतान्त्रिकका केन्द्रीय सदस्य अब्दुल करिम खान, तत्कालिन तमलोपाका जिल्ला अध्यक्ष गिरिजाप्रसाद पाठक, नेता चिन्तु बर्मालगायतका नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका थिए ।

एमालेको विधान महाधिवेशनपछि झापा पुगेर माओवादीसँग आबद्ध दुर्गा प्रसाईंलाई एमालेमा प्रवेश गराई केन्द्रीय सदस्यसमेत बनाएका ओली फेरि झापा जाँदैछन् । पार्टी प्रवेश कार्यक्रममा ओली आफै शिर्ष नेताहरुलाई लिएर जिल्ला–जिल्ला पुगिरहेका छन् ।

कपिलबस्तु जाँदा ओलीले उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल लगायतका शिर्ष नेताहरुलाई संगै लिएर पुगेका थिए । यस्तै पर्सा पुगेका ओलीसंगै उपाध्यक्ष पौडेल समेत रहेका छन् । पर्सामा एमाले सचिव रघुवीर महासेठ, स्थायी कमिटीका सदस्य प्रभु साह सहित शिर्ष नेताहरुको सहभागिता रहेको छ ।

‘पार्टी प्रवेश वा जनसंगठनले आयोजना गरेका जुनसुकै कार्यक्रमको उद्देश्य एमाले विभाजनको क्षति न्यूनीकरण गर्नु नै हो’ एमालेका एक स्थायी कमिटी सदस्यको दाबी छ ।

जिल्लाको यि कार्यक्रममा पुग्दा ओलीले अन्य पार्टी तथा नेताहरुको कडारुपमा आलोचना गर्दै एमालेले मात्रै समृद्ध नेपाल निर्माण गर्न सक्ने दावी गर्दै आएका छन् ।

ओलीले पार्टीमा छलफल नै नगरी स्वेच्छाचारी तरिकाले दुई–दुई पटक संसद विघटन गरेपछि सत्ताबाट बाहिरिनु परेको थियो । सर्वोच्च अदालतले संसद विघटन गैरसंवैधानिक भएको भन्दै पुनः स्थापना गरिदिएको थियो । ओलीको यही कार्यशैलीका कारण तत्कालिन नेकपा बिभाजन भएको थियो । पछि एमाले समेत बिभाजन भएको हो ।

प्रतिक्रिया दिनुहोस्