दाङ । कर्तव्य ज्यानमुद्दामा २० वर्ष कैद फैसला भई सजाय भुक्तान गरिरहेका एक कैदी प्रहरीकै सहयोगमा भागेका छन् । घोराहीस्थित कारागारमा रहेका राजपुर गाउँपालिका बेलाका २८ वर्षीय जयराम परियार बिहीबार अस्पतालबाट भागेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी प्रमुख एसपी सुरेश काफ्लेका अनुसार परियार कारागारका नाइके थिए।
परियार बिहान छालाको उपचार गर्न भन्दै घोराहीस्थित एक अस्पतालमा बिहान ११ बजेतिर प्रहरी जवान धनबहादुर चौधरीसँगै लु३४प ४१० नम्बरको मोटरसाइकल चढेर गएकोमा उनी भागेका थिए । उपचारका लागि भनेर हतकडी खोलेपछि परियार प्रहरी जवान चौधरीकै मोटरसाइकल लगेर भागेको भए पनि त्यसमा चौधरीको मिलेमतोको आशंका गरिएको छ ।
‘हामीले प्रहरी जवान चौधरीलाई थुनामा राखेका छौं,’ एसपी काफ्लेले भने, ‘परियारलाई भगाउन चौधरीले नै भूमिका खेलेको आधारहरू देखिएका छन्।’
परियारले अहिलेसम्म साढे सात वर्ष कैद सजाय भुक्तानी गरिसकेका थिए। परियारको खोजीमा प्रहरी परिचालन गरिएको काफ्ले बताए। मोटरसाइकलमा कैदीलाई अस्पताल लैजान नपाउने भएकाले यसमा जेलका अन्य प्रहरीको पनि मिलेमतोको आशंका गरिएको छ ।