Logo
Logo

माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दै


252
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक आज पनि बस्दैछ । बैठक पार्टी मुख्यालय पेरिस डाँडामा आज दिउँसो १ बजे बस्न लागेको हो ।

यसअघि शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रथम राष्ट्रिय सम्मेलनका लागि पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आजको बैठकमा थप छलफल र अध्ययन हुनेछ ।

शुक्रबार बसेको बैठकले पुष ११ देखि १३ गतेसम्म हुन गइरहेको प्रथम राष्ट्रिय सम्मेलनका लागि प्रतिनिधि टुंग्याएको छ । राष्ट्रिय सम्मेलनका लागि नियमित प्रक्रियाबाट आउने एक हजार चार सय ८३ जना प्रतिनिधि टुंग्याउने निर्णय भएको माओवादी केन्द्रका पार्टी प्रवक्ता कृष्णबहादुर महराले बताए । जसमा आयोजक, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकारहरु सबै रहने जनाइएको छ ।

त्यस्तै यसअघि ५ प्रतिशत प्रतिनिधि मनोनित गर्ने बताइए पनि पार्टी एकताको प्रक्रियामा आउने संख्या पनि जोडेर दश प्रतिशत प्रतिनिधि मनोनयन गर्ने निर्णय गरेको प्रवक्ता महराको भनाई छ । यसको जिम्मा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ । त्यस्तै नेकपा माओवादी केन्द्रमा पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरिएको छ ।

शुक्रबार बसेको स्थायी समिति बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पदाधिकारीको संख्या १५ बनाउन प्रस्ताव गरेका हुन् ।

विधानअनुसार अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव र कोषाध्यक्षसहित पाँच जना मात्रै पदाधिकारी रहने व्यवस्था छ । तर अध्यक्ष प्रचण्डले पदाधिकारी १५ बनाउने प्रस्ताव बैठकमा गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्