काठमाडौं । भारतमा एक जना व्यवसायीको घरबाट १ अर्ब ७७ करोड भारतीय रुपैयाँ बरामद गरिएको छ । भारती मिडियाका अनुसार कर छलीको आरोपमा अनुसन्धान गरिरहेको भारतको जीएसटी इन्टेलिजेन्सको टिमले अत्तर व्यवसायी पियुष जैनको घरबाट उक्त परिमाणमा रकम बरामद गरेको हो ।
बिहीबार र शुक्रबार जैनको उत्तर प्रदेशको कन्नौजस्थित घरमा छापा मारिएको थियो । अन्य ठाउँमा समेत पैसा लुकाइएको छ कि भन्ने आशंकामा शनिबार पनि छापा मार्ने काम जारी रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
जैन र उनका अन्य दुई जना व्यापारिक साझेदारका ११ ठाउँमा छापा मारिएको थियो । विभिन्न कम्पनीमार्फत ३ करोड ९ लाख कर छली भएको खुलेको अनुसन्धानमा खटिएका अधिकारीहरूले जनाएका छन् ।
जैनले विभिन्न बैंकबाट ऋण लिएको विदेशमा समेत ठूलो लगानी गरेको प्रमाण पनि भेटिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
कन्नौजको छपट्टीका स्थायी बासिन्दा जैनको प्रमुख व्यवसाय अत्तर उत्पादन हो । उनले त्रिमूर्ति फ्र्यागनेन्स प्राइभेट लिमिटेडमार्फत शिखर पान मसला पनि उत्पादन गर्दै आएका छन् । भारतीय सञ्चारमाध्यमले जनाएअनुसार जैन समाजवादी पार्टीका अध्यक्ष तथा उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री अखिलेश यादवनिकट व्यवसायी मानिन्छन् ।