Logo
Logo

संशोधन भए एमसीसी अघि बढ्न सक्छ : प्रचण्ड


1.5k
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता यथास्थितिमै स्वीकार गर्न नसकिने बताएका छन् ।

सनिबार काठमाडौंमा सम्पादकहरुसँग संवाद गर्दै अध्यक्ष प्रचण्डले एमसीसी सम्झौतामा आवश्यक संशोधन र परिमार्जन गरेर मात्रै स्वीकार गर्न सकिने बताएका हुन् ।

अध्यक्ष प्रचण्डले नेपालको राष्ट्रिय हित र नेपाली जनताको भावनालाई समेत केन्द्रविन्दुमा राख्दै प्रोजेक्टभित्रको सुरुवातको सम्झौता र पछिका कयौं सम्झौताबाट उठेका प्रश्नहरुको जवाफ दिएर मात्रै अघि बढाउन सकिने बताए ।

‘अवश्यक परिमार्जन र संशोधन गरेर हामी अगाडि बढाउने पक्षमा छौं । विना परिमार्जन, विना संशोधनचाहिँ यो जाँदैन’ पूर्व प्रधानमन्त्री समेत रहेका अध्यक्ष प्रचण्डले भने ।

एमसीसीबारे गठबन्धनमा छलफल गरेको बताउँदै उनले भने– ‘प्रधानमन्त्री र मेरो बीचमा त धेरै पटक यो विषयमा कुरा भएको छ र मैले नै सर्वदलीय बैठक बस्न जरुरी छ । के कुरामा परिमार्जन र संशोधन गर्नुपर्ने हो भन्नेमा निष्कर्षमा पुग्नुुपर्छ भनेपछि गठबन्धनको मिटिङ बस्यो र कार्यदल बनाइएको छ ।’

उनले अनुदानमा आएको रकम फिर्ता होस् भन्ने आफुहरुले नचाहेको पनि बताए । ‘नेपाललाई आउने भनेको पैसा जाओस् भन्ने हाम्रो चाहना होइन । नेपाललाई पूर्वाधार विकासका लागि पैसा चाहिएको छ । तर त्यो भित्र बीचमा केपी ओली र अर्थ मन्त्रालयबाट जे जस्ता कामहरु गरिएको छ, र त्यसले प्रश्न जन्माउँदै लगेर नेपाली जनमानसमा गम्भीर खालको आशंकाको स्थिति छ, त्यसलाई सम्बोधन नगरी क्लियर नगरी जानु भनेको अमेरिका र नेपाललाई पनि फाइदा हुँदैन’ अध्यक्ष प्रचण्डले भने ।

उनले उठेका प्रश्नहरूबारे प्रस्ट नभई एमसीसी अघि बढाउँदा राजनीतिक प्रक्रियालाई पनि फाइदा नपुग्ने भएकाले कार्यदलको प्रतिवेदनका आधारमा अघि बढाउने बताए । उनले अमेरिकनहरूसँग समेत लगातार छलफल हुने गरेको र त्यसका लागि समय लाग्नसक्छ तर त्यो समयका लागि दबाब नहोस् भनेको जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्