काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागले काठमाडौं र ललितपुरमा सहअनुसन्धान निर्देशक (एसएसपी)लाई खटाएको छ । यसअघि यी जिल्लामा उपअनुसन्धान निर्देशक(एसपी) प्रमुख हुन्थे ।
काठमाडौंमा प्रजेससिंह हमाल र ललितपुरमा इन्द्रसिंह तामाङलाई खटाइएको छ । ठूलो जनघनत्व भएको र भिआइपीको बसोबास भएको यी जिल्लामा बढेको सुरक्षा चुनौतीको आधारमा एसएसपी खटाइएको स्रोत बताउँछ ।
त्यस्तै प्रमुख अनुसन्धान अधिकृत (डिएसपी) जिल्ला प्रमुख रहने सात जिल्लामा उपअनुसन्धान निर्देशक (एसपी) खटाउन थालेको हो । इलाम, सिन्धुली, काभ्रे, नुवाकोट, पाल्पा, स्याङ्जा र सिन्धुपाल्चोकमा एसपीलाई खटाउन थालिएको छ । एसपी प्रमुख हुने हेटौँडास्थित तालिम केन्द्रलाई पनि सरकारले स्तरोन्नति गरी एसएसपी राखेको छ । विभागले पछिल्लो समय राम्रो काम गरेका आधारमा यसरी दरबन्दी थप गरिएको प्रधानमन्त्री कार्यालयका एक अधिकारीले बताए ।
त्यस्तै, हरेक स्थानीय तहसम्म विभागले आफ्नो संयन्त्र विस्तार गरेको छ । विभागका एक उच्च अधिकारीका अनुसार हरेक स्थानीय तहमा विभागका प्रतिनिधि खटिएका छन् । जसलाई सुरक्षाका साथै अनियमिततासम्बन्धी सूचना संकलनको जिम्मेवारीमा खटाइएको छ ।