Logo
Logo

व्यवस्था बदलिए तर अवस्था बदल्न सकेनौं : सीपी मैनाली


1k
Shares

काठमाडौं । नेकपा मालेका महासचिव सीपी मैनालीले व्यवस्था बदलिए पनि अवस्था बदल्न नसकेको गुनासो गरेका छन् ।

आजदेखि काठमाडौंमा सुरु भएको नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनमा शुभकामना दिँदै महासचिव मैनालीले व्यवस्था फेरिए पनि अवस्था नफेरिएको भन्दै हिजोआज आफूले त्यसलाई परिवर्तनका वाहकसँगको असन्तुष्टिका रुपमा बताउँदै आएको धारणा राखे ।

उनले आशंका व्यक्त गरे– ‘मलाई लाग्छ इतिहासले विगतका आन्दोलनलाई, जनताको आामूल परिवर्तनको आकांक्षालाई प्रयोगशाला दर्ज गरिदिने त होइन ?’

महासचिव मैनालीले माओवादी केन्द्रलाई ‘नवजीवन’को शुभकामना दिएका छन् । उनले भने, ‘पार्टीका समर्पित कार्यकर्ताबाट सार्वजनिक चाहनाअनुसार पार्टीलाई नवजीवन प्रदान गरुन् भन्ने कामना गर्दछु ।’

उनले माओवादी केन्द्रका नेताहरुका अघि अहिले ठूलठूला प्रश्नहरु उभिएको देखिरहेको बताउँदै केही सविस्तार प्रस्तुत गरे । उनको पहिलो प्रश्न थियो– ‘नेपाली इतिहासको १० वर्षे कालखण्ड र चर्चित आन्दोलनबाट आएको माओवादी केन्द्रले जनताको असन्तोष र इतिहासको फैसलालाई सम्बोधन गर्छ भनेर आशा किन नगरु ?’

तथ्यबाट सत्य खोज्ने माध्यमबाट वर्तमान समस्याको समाधान ननिकाल्ने हो भने देशमा एक खाले अन्योल कायमै रहने उनको भनाइ छ ।

उनको प्रश्नहरु छन्– ‘किन माओवादी केन्द्रले तय गरेअनुसार तात्कालीन लक्ष्य प्राप्त भएन ? के लक्ष्य लिनु नै समय सापेक्ष थिएन ? हाम्रो आफ्नो राष्ट्रिय जनक्रान्ति गर्ने बाटो कुन हो ?’
विशिष्ट आन्दोलनबाट खारिएका नेताहरुबाट उपयुक्त उत्तर आउने अपेक्षासमेत महासचिव मैनालीले गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्