Logo
Logo
माओवादी केन्द्रको महाधिवेशन

आजदेखि प्रचण्डको राजनीतिक प्रतिवेदनमा छलफल


1.1k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को महाधिवेशनमा आजदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल सुरु हुँदैछ ।

जारी महाधिवेशनको बन्द सत्रले प्रतिवेदनमाथि छलफल गर्न विभिन्न २५ वटा समूह बनाएको छ । काठमाण्डौको प्रज्ञा भवनमा सोमबार (हिजो) प्रचण्डले वैचारिक तथा राजनीतिक दस्ताबेज प्रस्तुत गरेका थिए ।

अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रतिवेदनमाथि छलफलका लागि गठन भएका समूहले विभिन्न ठाउँमा बसेर छलफल गर्ने भएका छन् । समूह एकमा ज्येष्ठ कम्युनिस्ट मञ्च रहेको छ । यो समूहलाई प्रज्ञा भवन सभाको मुख्य भागमा छलफलको ठाउँ तोकिएको छ ।

समूह दुई र तीनमा पार्टीका सल्लाहकार छन् । यी समूहलाई छलफलका लागि प्रज्ञा भवनको मुख्य मञ्चको दायाँ–बायाँ तोकिएको हो । समूह चार र पाँचमा प्रदेश नम्बर एकका प्रतिनिधि छन् । यी दुई वटा समूहलाई प्रज्ञा भवन भानुभक्त हलमा छलफलको ठाउँ तोकिएको छ ।

त्यस्तै समूह छ र सातमा प्रदेश नम्बर दुईका प्रतिनिधिहरू सहभागी छन् । यी समूहले प्रज्ञा भवनको पारिजात हलमा छलफल गर्दैछन् । समूह आठ र नौमा लुम्बीनी प्रदेशका प्रतिनिधिले प्रज्ञा भवनको सिद्धिचरण हलमा छलफल गर्ने तय भएको छ ।

अध्यक्षमण्डलका अध्यक्ष कृष्णबहादुर महराका अनुसार समूह १० र ११ मा गण्डकी प्रदेशका प्रतिनिधि समेटिएका छन् । यी समूहको छलफल गर्ने ठाउँ पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा रहेको छ ।

त्यसैगरी समूह १२ मा प्रवास प्रदेशका प्रतिनिधि छन् । उनीहरुले पनि पार्टी कार्यालय पेरिसडाँडामा छलफल गर्दैछन् । समूह १३ र १४ मा रहेका कर्णाली प्रदेशका प्रतिनिधि तथा समूह १५ र १६ मा सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समेटिएका छन् । उनीहरुले काठमाण्डौको एउटा पार्टी प्यालेसमा छलफल गर्नेछन् ।

समूह १७ र १८ मा सम्पूर्ण विभागका प्रतिनिधि अटाएका छन् । समूह १९ मा उपत्यका विशेष प्रदेशका प्रतिनिधि छन् । उनीहरुले बुद्धनगरमा छलफल गर्नेछन् । समूह २० र २१ मा सम्पर्क समन्वय प्रदेशका प्रतिनिधि छन् । उनीहरुको छलफलका लागि बिजुली बजारमा व्यवस्था गरिएको महराले जानकारी दिए ।

समूह २२ र २३ मा वाग्मती प्रदेशका प्रतिनिधि छन् । समूह २४ मा आयोगका सदस्यहरू छन् । समूह २५ मा जनवर्गीय सङ्गठन र मोर्चाका इञ्चार्ज र अध्यक्षहरू, केन्द्रीय कार्यालय, एकताबाट आएका प्रतिनिधिहरू सहभागी छन् । उनीहरुले थापागाउँमा छलफल थाल्ने तयारी छ ।

पार्टी प्रवक्ता महरका अनुसार आज दिनभर समूहगत छलफलमा केन्द्रित हुनेछ छ भने भोलि बिहान ११ बजेदेखि समूहका प्रमुखले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्