Logo
Logo
माओवादीको आठौँ महाधिवेशन

प्रचण्डको दस्तावेजमाथि छलफल सकिँदै, आजदेखि नेतृत्व चयनको प्रक्रिया


693
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रस्तुत गरेको राजनीतिक दस्तावेजमाथि आज छलफल सकिँदैछ ।

काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा जारी महाधिवेशनमा अध्यक्ष प्रचण्डद्वारा प्रस्तुत दस्तावेजमाथि विभिन्न २५ समूह बनाएर छलफल भइरहेको छ । अध्यक्ष प्रचण्डले पेस गरेको ‘२१औँ शताब्दीमा समाजवादको नेपाली बाटो’ दस्तावेजमाथि छलफल सकेलगत्तै आजै सुझव संकलन गरिनेछ ।

समूहगत छलफलका क्रममा वागमती प्रदेशका सहभागीले प्रचण्डपथको विकसित रूप प्रचण्ड विचारका रूपमा दस्तावेजलाई संश्लेषण गर्न सुझाव दिएका छन् । दस्तावेजमा अन्य राजनीतिक दललाई हेर्ने माओवादीको दृष्टिकोण नआएको तथा अन्तर्राष्ट्रिय कम्युनिस्ट आन्दोलनमा नेपालको कम्युनिष्ट आन्दोलन र विशेषगरी माओवादीको स्थान कहाँ छ भन्ने प्रष्ट नआएको विषय समूहगत छलफलमा प्रश्न उठेको छ ।

त्यस्तै, समूगत छलफलमा पार्टी एकताको विषयमा समेत प्रष्ट हुनुपर्ने भन्दै विगतको नेकपा एकताको गम्भीर समीक्षा आवश्यक रहेको विषय छलफलमा सहभागी नेताहरुले प्रश्न उठाएका छन् ।

समूहगत छलफलको निष्कर्ष सुनाउँदै गण्डकीका प्रतिनिधि त्रिभुवन पौडेलले भने, ‘पार्टी एकता नभेटिन्जेल पिरलो, भेटेसी कुकुर बिरालो जस्तो नहोस् भन्ने सुझाव पनि आएको छ ।’

समूहगत छलफलमा राम कार्कीको पूरक दस्तावेज भने समावेश भएको छैन । माओवादी केन्द्रको महाधिवेशनमा विधान र राजनीतिक दस्तावेजमाथिको छलफल सकिएपछि त्यसलाई परिमार्जनसहित पारित गरिनेछ । नेता देवेन्द्र पौडेलका अनुसार त्यसपछि आजै नेतृत्व चयनको प्रक्रिया अघि बढ्नेछ । माओवादीको महाधिवेशन हलबाट केन्द्रीय समिति चयन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्