Logo
Logo

चोक चोकमा फोहोर


रासस

567
Shares

काठमाडौं । मंगलबार रातिदेखि परेको वर्षातका कारण काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा थप समस्या हुँदा चोकचोकमा फोहोर थुप्रिएको छ ।

लामो समयदेखि फोहोर व्यवस्थापन गरिँदै आएको सिसडोलमा स्थानीयवासीले अवरोध गर्दा यही पुस पहिलो साता फोहोर व्यवस्थापन हुन सकेको थिएन । विगत पाँच दिनदेखि नियमितरुपमा उठ्न थालेको फोहोर निरन्तर परेको पानीको कारण पुनः रोकिएको हो ।

नियमित पानी परिरहे फोहोर सिसडोलसम्म लान नसकिने भन्दै काठमाडौँ महानगरपालिकाले नागरिकलाई केही दिनका लागि सकेसम्म फोहोर घरबाट बाहिर ननिकाल्न आग्रह गरेको छ । कामपा वातावरण विभागका प्रमुख सरिता राईका अनुसार पानी पर्दा फोहोर बोक्ने गाडी जान नसक्ने हुँदा चोकचोकमा फोहोर थुप्रिएको हो पानी पर्न रोकिएसँगै नियमित फोहोर व्यवस्थापन हुन्छ ।

हाल फोहोर व्यवस्थापन भइरहेको स्थानमा विगत १४ वर्षदेखि काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर व्यवस्थापन हुँदै आएको छ । निर्माणाधीन बञ्चरेडाँडाको काम एक वर्षमा सम्पन्न गर्ने भन्दै २०७६ वैशाखदेखि सुरु गरे पनि हालसम पहिलो सेलको मात्र काम सकिएको छ ।

दीर्घकालीनरुपमा फोहोर राख्ने स्थानको समस्या भएको भन्दै कामपाले निर्माणको काम सक्दो छिटो सकेर हस्तान्तरण गर्न सम्बन्धित निकायसँग आग्रह गरेको छ । बञ्चरेडाँडामा दीर्घकालीन फोहोर विसर्जन स्थान (स्यानिटरी ल्याण्डफिल साइट) निर्माण गर्न विसं २०७६ वैशाख २२ गते एक वर्षभित्र काम सम्पन्न गर्ने गरी लुम्बिनी कोशी एण्ड न्यौपाने जेभी (उपक्रम)सँग ठेक्का सम्झौता गरिएको थियो । सम्झौताअनुसार निर्माणको सम्पूर्ण काम गत वैशाखमा नै सकिनुपर्ने भए पनि दोस्रो सेलको काम अझै सकिएको छैन ।

सहरी विकस तथा भवन निर्माण विभागले दसैँअगावै बञ्चरेडाँडामा पहिलो ‘सेल’ निर्माणको काम पूरा भएको जानकारी गराएको छ ।

उपत्यकाबाट दैनिक एक हजार २०० मेट्रिक टन फोहोर सिसडोलमा विसर्जन हुन्छ । यसमध्ये सबैभन्दा बढी कामपाको ५०० मेट्रिक टन फोहोर निस्किने गर्दछ । उक्त फोहोर व्यवस्थापनका लागि कामपाको र निजी गरी दैनिक १५० देखि २०० गाडी सिसडोल जाने गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्