काठमाडौं । माओवादीको टेकोमा एमालेले ठड्याएको ‘शक्तिको महल’ नेकपा विभाजनसँगै ढल्यो । नेकपा (एकीकृत समाजवादी) गठन हुँदा एमाले चिरा प¥यो । त्यसपछि एक–एक गर्दै सत्ता गुमाउँदै जाँदा एमाले अस्तित्व रक्षाको अन्तिम विन्दुमा पुगेको छ ।
संघ र प्रदेशमा सत्ता गुमाएको एमालेले स्थानीय सरकार सग्लो राख्न सक्ने कुरा भएन । पछिल्लो आम निर्वाचनबाट आर्जिति शक्तिको रक्षा गर्न नसक्दा एमाले सडक पुग्यो । यो भन्दा कमजोर हुने एमालेसँग विकल्प छैन ।
एमाले असफलताको रफ्तार बतासभन्दा तीव्र छ । सत्ता गुमाउँदै–गुमाउँदै किनारामा पुगेको एमालेको असफलता यतिमै रोकिने देखिन्न । यतिखेर एमाले आन्तरिक संकटको सामना गर्दैछ । आन्तरिक संकट उत्कर्षमा पुग्दा एमाले विघटन हुनसक्छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीलाई लागेको थियो– नेकपा विभाजन गरेर सबैभन्दा ठूलो पार्टीको नेता हुन्छु । तर, त्यस्तो भएन । नेकपा विभाजनको पराकम्पमा एमाले विभाजन भयो । पार्टी विभाजनले भएको सबै गुम्यो । ओली भन्ने गर्थे– ‘भुँइको टिप्न खोज्दा गोजीको खस्ला ।’ आज त्यो उक्ति ओलीलाई नै लागू भयो । ओली अर्थात्, एमालेको गोजीको खस्यो ।
आज एमाले सिंगो छैन । एमाले बनाउने नेता माधवकुमार नेपाल र झलनाथ खनालहरु एकीकृत समाजवादी बनाउन लागिपरेका छन् । एकीकृत समाजवादी तत्कालै एमाले बराबरको शक्ति त नबन्ला । तर, एकीकृत समाजवादीको उपस्थितिले एमाले झनै कमजोर हुन्छ । अर्थात्, एमालेको शक्ति यात्रामा एकीकृत समाजवादीको उपस्थिति चुनौती हो ।
माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन एमाले ओरालो यात्राको पछिल्लो साक्षी हुन्छ । १९ सिटका लागि हुने निर्वाचनमा एमाले ‘क्लिन स्वीप’ हुँदैछ । सातै प्रदेशको मतभारले यैै भन्छ । एमालेका लागि सत्तारुढ गठबन्धन अजंगको भारी हो ।
राष्ट्रियसभा निर्वाचनमा ‘क्लिन स्वीप’ हुने निश्चित भएपछि केही समय अगाडि ओलीले भने– ‘परिणाम प्रतिकुल आउन सक्छ । आत्तिनु पर्दैन ।’ आत्तिनु पर्दैन भन्ने आफ्नै ढाडसले ओली आफैलाई समेत सान्त्वना त के मिल्थ्यो र ! सत्ता विहीनताको जलनमा ओली खरानी हुन मात्र बाँकी छ । त्यसैले त ‘एमसीसी पास गर्न सहयोग गर्छु’ भन्दै प्रधानमन्त्री शेरबहादुर देउवालाई ‘स्र्वाथयुक्त स्किम’ दिइरहेका छन् ।
ओली प्रतिगमनले जन्माएको वर्तमान सत्ता गठबन्धनको जग ओलीले सोचे जस्तो कमजोर छैन । ओलीले भनेजस्तो अपवित्र पनि होइन । व्यवस्था रक्षा गर्ने सन्दर्भमा बनेको वर्तमान सत्ता गठबन्धनसँग वैधानिक धरातल छ । संसदीय प्रणालीमा ‘कोलेसन गर्भमेन्ट’ अपवित्र वा अनैतिक हुँदैन । बहुदलिय प्रतिस्पर्धात्मक व्यवस्थामा दलीय गठबन्धन सर्वमान्य हो ।
कमजोर–कमजोर मिलेर संघर्ष गर्दा ठूला–ठूला शक्ति साम्राज्यहरु ढलेका छन् । तर यहाँ, कमजोर–कमजोर मिलेर गठबन्धन बनेको होइन । एमालेसँग बराबर शक्ति क्षमताका ठूला राजनीतिक दल मिलेर सत्ता गठबन्धन बनेको छ । यो गठबन्धन निरन्तर रहँदा कम्तीमा पाँच वर्षका लागि एमाले सडकमै हुनेछ ।
आगामी आम निर्वाचनमार्फत वर्तमान गठबन्धनले प्राप्त गर्ने जनमत र त्यसको आधारमा बन्ने सरकारले राम्रो काम गरे एमालेको सडक यात्रा थप लम्बिने छ । एमालेलाई यसैको डर हो । त्यसैले गठबन्धन भत्काउन निरन्तर प्रयास भइरहेको छ । तर, एमालेको प्रयास सफल हुने देखिन्न ।
आम निर्वाचनको संघारमा गठबन्धन तोड्ने सन्दर्भमा सत्तारुढ दल तयार हुने कुरा हुँदैन । वर्तमान गठबन्धनले नै आम निर्वाचनमा पनि निरन्तरता पाउने थुप्रै आधार छन् । आम निर्वाचन नजिकिएको बेला वर्तमान शक्ति सन्तुलनकै आधारमा व्यवस्थाको रक्षा भयो र हुन्छ भन्ने जनविश्वासमा आघात पुर्याउने निर्णय सत्तारुढ दलकै लागि घातक हुन्छ ।
व्यवस्था रक्षाको सन्दर्भमा बनेको गठबन्धन भत्किँदा आम जनतामा पर्ने नकारात्मक सन्देशले जनमत विभाजित हुने र सत्तारुढ दल नै पराजित हुने सम्भावना रहन्छ । अथार्त गठबन्धन फुटे प्रतिगमनविरुद्ध संघर्ष गरेका शक्ति कमजोर हुँदा प्रतिगमनकारी शक्ति बलियो हुन्छ । र, व्यवस्था पुनः संघटमा पर्छ । यी आधारमा गठबन्धन फुट्न सक्दैन र फुट्नु हुँदैन ।
बेला–बेला ओली भन्छन्– ‘गठबन्धनसँग लड्न एक्लो एमाले काफी छ ।’ तर, यो धाक मात्र हो, बर्कत छैन । दुई कारण एमालेको जोर नचल्ने देखिन्छ । पहिलो, पाँच दलीय गठबन्धन । दास्रो, एमालेको कमजोर र भद्रगोल अवस्था । एमालेलाई त्यसै कमजोर भनिएको होइन । यसका वस्तुगत आधारहरु छन् ।
एमाले अध्यक्ष ओलीको नेतृत्वमा भएको प्रतिगमन एमाले कजोर हुनुको मुख्य कारण हो । ओली प्रतिगमनविरुद्ध नागरिकस्तरबाट उठेको आन्दोलनले ‘एमाले साच्चिकै खत्तम रहेछ’ भन्ने स्थापित भयो । जनस्तरमा स्थापित ‘एमाले खत्तम’ धारणाले एमालेप्रति जनसद्भाव खस्कँदै गएको छ । आम निर्वाचसन्न पुग्दा यसको मात्र झनै बढ्न सक्छ ।
पार्टीको तल्लो सहसम्म एमाले विभाजन भएको छ । तल्लो तहसम्म नै ओलीकै कारण पार्टी विभाजन भएको संचार भएको छ । संख्यात्मक रुपमा एकीकृत समाजवादीमा कम गए होलान् । तर, आम जनतासम्म पुगेको सन्देश एमाले विभाजन भएकै हो । विभाजपछि बनेको एकीकृत समाजवादी अहिलेकै अवस्थामा एमालेभन्दा ठूलो दल नहुनसक्छ । तर, एमाले हारमा बलियो कारक अवश्य बन्छ । किनकी, एकीकृत समाजवादी पार्टी अन्य दल विभाजन भएर बनेको पार्टी होइन । एकीकृत समाजवादीको रुपमा नयाँ दल गठन हुँदा एमालेकै नेता, कार्यकर्ता र शुभेच्छुक बाडिएका हुन् ।
एमाले कमजोर छ । र, झनै कमजोर हुन्छ भन्ने आधार आन्तरिक कलह पनि हो । यस विषयले एमालेको भविष्य निर्धारण गर्छ । दशौं महाधिवेशनपछि एमालेमा आन्तरिक कलह झनै बढ्यो । माधव र झलनाथहरु बाहिरिएपछि पार्टी कब्जा भयो भन्ने निष्कर्षमा पुगेका ओलीले सामान्य आलोचकलाई समेत बाँकी राखेनन् । फरकमत राख्नेहरुमाथि एक–एक प्रहार र निषेधले एमालेमा आन्तरिक कलह बढेको छ । एमालेमा हरेक दिनजसो बिद्रोह भइरहेको छ । आगामी निर्वाचनसम्म पुग्दा बिद्रोहको क्रम बढ्न सक्छ । किनकी, आन्तरिक कलह व्यवस्थान गर्न ओलीसँग ल्याकत र जाँगर दुबै छैन ।
एमालेका लागि सच्चिने अवसर धेरै थियो । तर, ओलीको आडम्बरमा त्यो अवसर गुम्यो । एमालेमा सचेत नेता कार्यकर्ता रहेनन्, सबै दास भए । ओलीसँग फरकमत राख्ने नगन्य नेता एक–एक गर्दै ठेगान लगाइए । अनर्थ नलागेमा– एमाले नामको बोरा भरी आलु थियो । त्यसमध्ये केपी नामको आलु कुहियो । र, बोराको सबै आलु कुवायो । आलु नै सबै कुहिएपछि बोरा त्यसै कुहिने यो !
(प्रस्तुत सामग्रीमा प्रयोग गरिएको कार्टुन नेपाली टाइम्सबाट साभार गरिएको हो ।)