काठमाडौं । नेकपा एमालेले आर्थिक तथा कोष व्यवस्थापन विभागमा सदस्य मनोनित गरेको छ ।
एमाले उपमहासचिव विष्णु रिमाल संयोजक रहेको सो विभागको सदस्यमा पार्टी पोलिटव्यूरो सदस्यसमेत रहेका विना श्रेष्ठ र केन्द्रीय सदस्य डा.भीष्म अधिकारी रहेका छन् ।
पार्टीले गर्ने खर्च र आम्दानीको हिसाबकिताबको काम यही विभागले गर्नेछ । ‘केन्द्रीय कार्यालयबाट हुने खर्च पनि यही विभागले हेर्ने गर्छ’ विभागका सदस्य एवं केन्द्रीय कार्यालयका सचिवसमेत रहेका अधिकारीले भने ।
एमालेको विधानअनुसार पार्टीभित्र कोषाध्यक्षको व्यवस्था छैन् । तर, कोषाध्यक्षले गर्ने सम्पूर्ण काम यही विभागबाट हुने गर्छ । एमालेमा यसलाई कोषाध्यक्षको रुपमा लिने गरिन्छ ।
एमाले प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार अहिले पार्टीले विभागको नियमावली बनाउने आन्तरिक गृहकार्यमा जुटेकाले विभागको सदस्य संख्या कति हुने भन्ने टुंगो नलागेकाले पार्टीको कामलाई अगाडी बढाउन थोरैमात्रै सदस्य मनोनित गरिएको बताए । नियमावली टुंगो लागेपछि विभागहरुलाई पूर्णता दिइने उनले बताए ।
यसैगरी एमालेले स्थानीय तह विभागमा समेत सदस्य मनोनित गरिएको छ । पार्टी पोलिटब्यूरो सदस्य एवं विभाग प्रमुख देवेन्द्र दाहालले राप्ती नगरपालिकाकी प्रमुख प्रभा बराललाई विभागको उपप्रमुख तोकेका छन् । ।
यस्तै स्थानीय तह सम्बद्ध तीनवटा संस्थाका अध्यक्षलाई विभागको सदस्य मनोनित गरिएको छ । जसमा नगरपालिका महासंघका अध्यक्ष एवं काभ्रे जिल्लाका अध्यक्ष अशोक व्याञ्जु, गाउँपालिका महासंघका अध्यक्ष होमनारायण श्रेष्ठ र जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलाल रहेका छन् ।
यसैगरी सदस्यमा झापाका हर्कराज राईलाई राखिएको छ । सो विभागमा बढीमा २५ सदस्य हुनेछन् । अन्य सदस्य आवश्यकताअनुसार पछि मनोनीत गरिने बताइएको छ ।