Logo
Logo

नियमित विद्युत संचालन नभएसम्म प्राधिकरणमा लगाइएको ताला नखुल्ने


नन्दा थापा

189
Shares

बाजुरा । नागरिक समाजले आफ्नो आन्दोलन जारी राखेको छ । विद्युत लाइन विस्तारको माग राख्दै आन्दोलन गरिरहेको नागरिक समाजले आज दोस्रो दिन जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।

नागरिक समाजले मंगलबार नेपाल विद्युत प्राधिकरणको बाजुरास्थित वितरण केन्द्रको कार्यालयमा लाता लगाएको थियो । नियमित विद्युतको माग गर्दै तालाबन्दी गरेको नागरिक समाजका खेमराज साउँदले बताए ।

नागरिक समाजले नारा जुलुस लगाउँदै बुधबार जिल्ला प्रशासन पुगेको थियो । बाजुरामा नियमित विद्युत संचालन नभएसम्म तालाबन्दी कायमै रहेने नागरिक समाजको भनाइ छ ।
मागबारे कुनै सुनुवाई नहुदाँसम्म ताला नखोलिने नागरिक समाजका सदस्य सुरेन्द्र नाथले जानकारी दिए ।

विद्युत प्राधिकरण र बाजुरा साना जलविद्युत केन्द्रका कार्यालयमा लगाएको ताला ठोस निणर्य नआएसम्म र केन्द्रीय प्रशारण लाइन मार्तडीमा जडान गर्ने ग्यारेन्टी नभएसम्म नखोल्ने अडानमा नागरिक समाजका अगुवाहरु देखिएका छन् । केही दिन अगाडि जिल्ला प्रशासन कार्यालयमा ज्ञापन पत्र समेत बुझाएको नागरिक समाजले विद्युत नियमित सम्वन्धि प्रशासन र विद्युत प्राधिकरणको ध्यान नगएको भन्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको थियो ।

कार्यालय स्थापना भएको तीन वर्षसम्म विद्युतका पोल गाड्ने बाहेक प्रगति नगरेको प्राधिकरणले विजुली बाल्ने ग्यारेन्टी नदेखाएसम्म र ठोस कार्य योजनासहित विश्वास माथिलो तहबाटै नआएसम्म ताला नखोल्ने अडानमा रहेको नागरिक समाजका अगुवा टेक सुुनारले बताए ।

सदरमुकाम मार्तडीमा दैनिक १० घण्टा लोडसेडिङको मारमा नागरिक रहेको भन्दै नागरिक समाजकै अगुवाईमा चरणबद्ध आन्दोलन गर्ने र ठोस निणर्य नआएसम्म आन्दोलन जारी रहने नागरिक अगुवा दिल बहादुर थापा भोटेले बताए ।

विद्युतको गुणस्तर सुधार गर्न त्रिवेणी साना जलविद्यतु केन्द्रको सामथ्र्य नभएको र प्राधिकरणले आफ्नो स्वामित्वमा लिएर वा विद्युत सापटी दिएर सेवामा गुणस्तरको ग्यारेन्टी र प्राधिकरणको विजुली मार्तडीमा जलाउने ग्यारेन्टी नभएसम्म तालाबन्द जारी राख्ने र चुनौति मोल्न तयार रहने गरी आन्दोलन सुरु गरिएको नागरिक समाजले जनाएको छ ।
यता प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले भोलि १ बजे सर्वदलिय बैठकको आयोजना गर्ने र सो बैठकले केही दिनमै समस्या समाधान गर्ने बताएका छन ।

प्रतिक्रिया दिनुहोस्