Logo
Logo
ओमिक्रोन भेरियन्टको त्रास

उपत्यकाका सवारीमा आजदेखि जोर बिजोर प्रणाली

खोप कार्ड अनिवार्य


1.6k
Shares

काठमाडौं । कोरोनाभाइरस (कोभिड–१९)को नयाँ भेरियन्ट ओमिक्रोनसहितको सङ्क्रमण तीव्र बन्दै गएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले आज रातिदेखि जोरबिजोर प्रणाली लागू गर्ने भएको छ ।

काठमाडौँ उपत्यकामा सार्वजनिक र निजी सवारी साधनहरु (दुई पाङ्ग्रेसहित) जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्रणालीमा सञ्चालन गर्ने आदेश जारी गरिएको काठमाडौँका निमित्त प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए ।

त्यसैगरी सार्वजनिक सवारीमा सीट क्षमताभन्दा बढी यात्रु नराख्न, सबै यत्रुलाई मास्क अनिवार्य गर्न, सवारी साधानको ढोकामा र सवारी साधनभित्र यात्रुले प्रयोग गर्ने गरी सेनिटाइजरको व्यवस्था गर्नुपर्ने आदेशमा उल्लेख छ ।

यसैगरी जिल्लाभित्रका सबै सार्वजनिक र सरकारी निकायमा आलोपालेमा सेवा प्रवाहको उचित प्रबन्ध कार्यालय प्रमुखले गर्ने आदेशमा उल्लेख छ ।

खोप कार्ड अनिवार्य
यस्तै आजदेखि सार्वजनिक स्थानमा स्थानमा कोरोनाविरुद्धको खोप कार्ड अनिवार्य गरेको छ । सार्वजनिक स्थानमा जाँदा खोप कार्ड अनिवार्य बोक्नुपर्ने सरकारी निर्णय आजदेखि लागू हुनेछ ।

सरकारी नियमअनुसार अब कार्यालय, होटल, रेस्टुरेन्ट, सिनेमा हल, रङ्गशाला, हवाई यात्रा, पार्कजस्ता सार्वजनिक ठाउँमा जाँदा खोप लगाएको कार्ड वा कार्डको फोटो देखाउनुपर्नेछ ।

आजदेखि लागू हुने गरी सरकारले यो नियम लगाउने निर्णय गरेलगत्तै खोप लगाउनेहरुको सङ्ख्या बढेको छ । तर सरकारले खोप केन्द्रमा भिड व्यवस्थापन गर्न सकेको छैन । सार्वजनिक ठाउँमा खोप कार्ड बाध्यात्मक बनाउँदा धेरैजना खोपको दायरामा आउने भए पनि कार्यान्वयनमा जटिलता देखिने विज्ञहरुको भनाइ छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार अहिले कुल जनसङ्ख्याको ५३ प्रतिशतले एक मात्रा र ४१ दशमलव ४ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । यसैगरी लक्षित जनसङ्ख्यामध्ये ८० दशमलव ९ प्रतिशतले एक मात्रा र ६३ दशमलव १ प्रतिशतले पूर्ण खोप लगाएका छन् ।

प्रतिक्रिया दिनुहोस्