Logo
Logo

हुस्सु नफाटेपछि तरकारी खेती गर्ने किसान मारमा


756
Shares

महोत्तरी । लामो समयदेखिको बाक्लो हुस्सु र तुुसारोले तरकारीका बाली बोटमै पहेलिएपछि यहाँका तरकारी उत्पादक किसान मारमा परेका छन् । लाग्दो पुसदेखि नै कहिलेकाहीँ आक्कलझुक्कल घाम देखिए पनि यहाँ सधैँजसो लाग्ने बाक्लो हुस्सु र रातैपिच्छे पर्ने तुसारोले हरियो तरकारीका बेला लहरा, चिचिला र फल सुकाउनसँगै रोग बढाएपछि किसानको चिन्ता बढाएको हो ।

‘खेतबारीमा आलु, गोभी, भाण्टा, टमाटर, परवल, सिमी, करेला र बोडीसहितका तरकारीका बिरुवा बाक्लो हस्सुसँगैको तुसारोले गलायो’, बर्दिवास नगरपालिका–९ पशुपनिगरका तरकारी किसान महेन्द्रसिंह कुशवाहाले करिब एक महिनाको चिसोले कक्रिएका कोभीका बोट देखाउँदै भने, ‘हेर्नोस् न उत्पादन लिने ठिक्क बेलामा बढेको चिसोले बोट बढ्नै सकेन ।’ करिब पछिल्लो महिना दिनको अवधिमा माघेसङ्क्रान्तिको दिनबाहेक अन्य दिन राम्ररी घाम लागेको देख्न नपाइएको कुशवाहाले बताए ।

लगातारको बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारोले लटरम्म फलेका टमाटरका फल बोटमै कुहिएर झरेका किसानको भनाइ छ । त्यसैगरी रायोको साग, सिमी, बोडी, बन्दा कोभी र पूmलगोभीमा लाइकिरा लागेर बोट, लहरा नै कक्र्याइदिएपछि यसपालि हिउँदे तरकारीबाट उत्पादन लिने आस मरेको सो बस्तीकै अर्का किसान दिलीप महतो बताउँछन् ।

बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारोले गलाएको तरकारीका बोट जति उपचार गरे पनि ठिक नभएको किसानको गुनासो छ । ‘भरसक्दो त उपचार गरियो”, बलवा नगरपालिकाको धमौरा भगवतीपुरका तरकारी किसान रेजा कवारीले गलित स्वरमा भने, ‘तरकारी खेती त गयो गयो, उपचार गर्दा गरिएको खर्चको ऋणमा समेत परियो ।’

हिउँदे तरकारीका बोटले लामो समयसम्म घामको ताप नपाउँदा उपचार नलागेको कृषि प्राविधिकको भनाइ छ । ‘दुई÷चार दिनको अघिपछि घाम देखिएको भए उपचार लाग्ने थियो, मौसमले साथ नदिएपछि औषधिले मात्र के गर्नु ’ नेपाल सरकारको कृषि सेवाकै सहसचिवबाट सेवा निवृत्त भएका कृषि विज्ञ भङ्गाहा–५ सीतापुरका रामबहादुर भुजेल भन्छन, ‘यसपालि त २५ दिनसम्म लगातार बाक्लो हुस्सु, चिसो स्याँठ र तुसारो पर्ने क्रम रोकिएन, त्यसैले उपचारका लागि गरिएको प्रयत्न त्यति फलदायी भएन ।’

यस वर्ष सुरुदेखि नै तरकारी खेतीका लागि प्रतिकूलता व्यहोर्दै आइएको किसान बताउँछन् । ‘बर्खे तरकारी त्यतिखेरको लामो झरी र भेलले गलायो’, भङ्गाहा–४ रामनगरका तरकारी उत्पादक किसान चन्देश्वरराय दनुवारले दिक्दारिँदै भने, ‘बर्खे तरकारी भेलमा प¥यो, अहिले हिउँदे तरकारी चिसोले सक्यो, अब जहान परिवारको प्रतिपाल कसरी गर्ने होला’ अब त मौसम सुध्रे पनि हिउँदे तरकारीको उत्पादन लिने समय खस्कँदै गएको दनुवार सुनाउँछन् ।

बर्दिवास नगरपालिकाका किसाननगर, पशुपतिनगर, बिजलपुरा, भङ्गाहा नगरपालिकाका रामनगर, राजपुर र हतिसर्वा तथा बलवा नगरपालिकाका धमौरा र बनौटा, गौशाला नगरपालिकाका बेलगाछी, लक्ष्मीनियाँ र भरतपुर बस्ती एवं मटिहानी नगरपालिका क्षेत्र तरकारी बालीका पकेट क्षेत्र मानिन्छन् । यी बस्तीमा करिब पाँच हजार हेक्टरमा तरकारी खेती लगाइने गरेको कृषि ज्ञान केन्द्र कार्यालय जलेश्वरको आँकडा छ । प्राकृतिक प्रकोपको निदान र खेतबारीमा सिँचाइको प्रबन्ध नहुँदा कहिल्यै ठिक समयमा बाली लगाउन, रोगको निदान एवं उपचार गर्न नसक्दा अपेक्षित उत्पादन लिन नसकिएको तरकारी किसानकले दुःखेसो सुनाउँछन् ।

आपूmहरूको यो मर्का सरकार र सम्बद्ध निकायले बुझिदिनुपर्ने किसानको माग छ । कहिल्यै समयमा बीउबिजन र मल नपाउने, सिँचाइको प्रबन्ध नहुनु, रोगव्याधि र प्राकृतिक प्रकोप निदानको पूर्वतयारी तथा विज्ञको अवलोकन नहुँदा आपूmहरूको खेती ‘दैवकै भर’ हुने गरेको किसान बताउँछन् । जिल्लामा पकेट क्षेत्र र अन्य भेगसहित १० हजार हेक्टरमा तरकारी खेती हुँदै आएको कृषि ज्ञान केन्द्र महोत्तरीको कृषि प्रसार शाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्