काठमाडौं । सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज सर्वदलीय बैकठ बोलाएका थिए ।
चुनावबारे छलफल गर्नका लागि भन्दै प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा एमाले नजाने एमाले उपमहासचिव प्रदीप ज्ञवालीले बताए ।
स्थानीय निर्वाचन नगर्ने नियतका साथ सर्वदलीय बोलाएका कारण आफूहरु सहभागी नहुने ज्ञवालीले बताएका छन् ।
बैठक अहिले ९ बजे बालुवाटारमा बस्दैछ । शुक्रबार उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकपछि स्थानीय तहको निर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
सर्वदलीय बैठक बोलाउनुअघि कांग्रेस सभापतिसमेत रहेका देउवाले शुक्रबार साँझ पार्टीका नेताहरूसँग छलफल गरेका थिए ।
यस्तै एमाले अध्यक्ष केपी शर्मा ओलीले समसामयिक विषयमा भोलि (आइतबार) पत्रकार सम्मेलन गर्दैछन् । प्रधानमन्त्रीले देशबासीका नाममा गरेको सम्बोधन, स्थानीय तह निर्वाचनलगायतका विषयमा भोलि पत्रकार सम्मेलनमार्फत् एमालेले आफ्नो आधिकारिक धारणा सर्वाजनिक गर्ने उपमहासचिव ज्ञवालीले जानकारी दिए ।