Logo
Logo

बेग्लाबेग्लै सवारी दुर्घटनामा ५ जनाको मृत्यु


567
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा बेग्लाबेग्लै दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।

दैलेख, चामुण्डा बिन्दासैनी नगरपालिका–७ तार बजारस्थित सडकमा भे.१ ख १९२१ नम्बरको ट्रकको ठक्करबाट सडक किनाराको ढुङ्गामा बसिरहेकी सोही ठाउँ बस्ने भवानी प्रसाद चौलागाईकी छोरी १६ वर्षीया सर्मीला चौलागाईको शनिबार दिउँसो घटनास्थलमै मृत्यु भएको छ । फरार रहेका ट्रक चालकको प्रहरीले खोजी गरिरहेको जनाएको छ ।

यस्तै, सिन्धुपाल्चोक, मेलम्ची नगरपालिका–३ हैबुङस्थित सडकमा हाल नम्बर नखुलेको स्काभेटरले ढुङ्गा निकाल्ने क्रममा माथीबाट ढुङ्गा खसेर लाग्दा स्काभेटर चालक बर्दिया मधुवन नगरपालिका–६ सानोश्री बस्ने ४२ वर्षीय शेर बहादुर श्रेष्ठको शनिबार साँझ घटनास्थलमै मृत्यु भएको छ ।

बाँके, कोहलपुर नगरपालिका–२ एनसिसिएन चोकस्थित सडकमा भे.१ च २८१५ नम्बरको बलेरो जिप र भे.१० प ४६८ नम्बरको मोटरसाइकल एक–आपसमा ठक्कर खाई शनिबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक बर्दिया बढैयाताल नगरपालिका–३ बस्ने २० वर्षीय राजन कुमार थारुको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटना घाइते भएका मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २२ वर्षीय किशोर थारुको सोही अस्पतालमा उपचार भइरहेको छ । बोलेरो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

यसैगरी स्याङ्जा, कालिगण्डकी गाउँपालिका–२ कोटाकोट सेरास्थित सडकमा लु.३ त ३७०२ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरका चालक सोही ठाउँ बस्ने १८ वर्षीय गोबिन्द पाण्डेको मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको लुम्बिनी मेडिकल कलेज पाल्पामा उपचारको क्रममा मृत्यु भएको हो ।

उता, रुपन्देही, सैनामैना नगरपालिका–४ लुम्बिनीस्थित सडकमा लु.९ प ३०३४ नम्बरको मोटरसाइकलको ठक्करबाट सोही ठाउँ बस्ने २३ वर्षीया लक्ष्मी श्रीस मगरको शनिबार मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

आफूले सामान किन्दै गरेको ठेलालाई लु.८ प ४१७३ नम्बरको मोटरसाइकलले ठक्कर दिएपछि आत्तिएर बाटो काट्ने क्रममा लु.९ प ३०३४ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिएको हो । दुवै मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्