Logo
Logo

अस्थिरता सिर्जना गर्न खोजिँदैछ : पूर्व महान्यायाधिवक्ता बडाल


1.8k
Shares

काठमाडौं । पूर्व महान्यायाधिवक्ता रमेश बडालले वैशाखमा स्थानीय तहको निर्वाचन नगर्ने र पर धकेल्ने कुरालाई अस्थिरताको सिर्जना गर्नको लागि गरिएको खेती भएको बताएका छन् ।

काठमाडौंमा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘अहिले कुन–कुन पार्टी सहयोगी र नेताहरुको मुखबाट स्थानीय तहको निर्वाचन नगर्ने भनेर कुरा बाहिर ल्याईएको छ, यो संविधान र कानुनसँग सम्बन्धित विषय होइन । हाम्रो देशमा अस्थिरता सिर्जना गर्नको लागि गरिएको खेती हो ।’

उनले अहिले स्थानीय तहको निर्वाचन गर्ने भन्ने सवालमा विवाद भन्दापनि नेपालमा के गर्दा अस्थिरता सिर्जना हुन्छ ? त्यो गर्नको लागि र अस्थिरता कसरी सिर्जना गर्ने भन्नेबारे खेलिरहेको टिप्पणी गरे ।

उनले भने, ‘नेपाललाई नियन्त्रित अस्थिरतामा राख्न चाहने तत्वहरुले धेरै लामो समयदेखि नै कुनैपनि बहानामा कुनैपनि विषयमा अस्थिरता जे गर्दा सिर्जना हुन्छ त्यही बाटो प्रयोग गरिरहेको हामी पाउँछौं ।’

२०७९ सालमा वैशाखमा निर्वाचन हुन्छ भन्ने कुरा संविधानले नै निश्चित गरिसकेको उनले बताए । संविधानको धारा २१४ देखि हेर्दै गयौं र धारा २१९ सम्म हेर्यौँ भने स्थानीय कार्यपालिकाको बारेमा व्यवस्था गरेको उनले बताए ।

संविधानको धारा २१५ को ५ ले अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र सदस्यहरुको पदावधि निर्वाचित भएको मितिले पाँच वर्षको हुने बताए ।
बडालले संविधानको धारा २१६ ले नगरपालिकाको बारेमा व्यवस्था गरेको उल्लेख गरे छ । उनले धारा २१६ को उपधारा ६ मा पदाधिकारीको पदावधि ५ वर्ष हुने उल्लेख गरेको र यसको उपधारा ८ ले पदमुक्तको बारेमा व्यवस्था गरेको बताए ।

त्यस्तै, संविधानको धारा २१७ मा न्यायिक समितिको बारेमा व्यवस्था गरेको बताउँदै भने, ‘संविधानको धारा २२५ मा गाउँसभा र नगरसभाको बारेमा लेखिएको छ । गाउँसभा र नगरसभाको कार्यकाल निर्वाचन भएको ५ वर्ष हुनेछ भनिएको छ, त्यसको कार्यकाल समाप्त भएको ६ महिनाभित्र अर्को गाउँ र नगरसभाको निर्वाचन गरिसक्नुपर्नेछ ।

यो व्यवस्था स्थानीय व्यवस्थापिकासँग सम्बन्धित हो । मनोनित गर्नुपर्ने भएकोले ६ महिनाको समय दिएको हो । जेठ ५ गते किन ? जेठ ५ गते किन भने स्थानीय तह निर्वाचन ऐनले प्रष्ट रुपमा निर्वाचनको पहिलो निर्वाचनको मितिको ७ औं दिन यसको कार्यकाल सकिन्छ भनिएको छ । ऐन यथावत छ । यसलाई चूनौति दिन सकिँदैन् । नेपालमा स्थानीय तहको पहिलो निर्वाचन २०७४ बैशाख ३१ गते भएको हो, ऐनअनुसार जेठ ५ गते हो ।’
स्थानीय तहको निर्वाचन यो मितिमा नगरेर अरु कुनै मितिमा सार्नुपर्छ भनेर भन्नुको अर्थ स्थानीय तहलाई भ्याकुमा राख्नु भएको उनको टिप्पणी छ ।

उनले भने, ‘स्थानीय तहको निर्वाचन तोकिएकै मितिमा नगर्नु भनेको यसमा शुन्य अवधि सिर्जना गर्नु हो । शून्यतामा लगेपछि नेपालमा चलखेल गर्न चाहने तत्वहरुलाई उपयुक्त समय र प्लेटफर्म सिर्जना हुन्छ । नियन्त्रित अस्थिरता सिर्जना खोज्नेहरुले खेल्न पाउँछन् ।’

बडालले तीनै तहको निर्वाचन एकै चरणमा सम्भव हुन्छ कि हुँदैन् ? भन्ने पनि अहिले उठेको सुनाए । उनले सुन्दा यो सुन्दर कुरा भएपनि व्यवहारिक रुपमा असम्भव भएको भनेर यसअघि नै निर्वाचन आयोगले भनिसकेको स्मरण गराए ।

उनले भने ‘यो तर्क ५ वर्ष अगाडि पनि अएको थियो । त्यतिवेला पनि यो विषयमा छलफल भएको थियो । प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुले त्यतिखेर तीनै तहको निर्वाचन एकै चरणमा सम्भव छैन भनेर बोल्नुभएको थियो । व्यवहारिक र कानुनी हिसाबले सम्भव छैन भनिएको हो । अनि स्थानीय तहको अगाडि भएको हो ।’

उनले स्थानीय तह निर्वाचनसम्बन्धी कानूनले स्थानीय तहको निर्वाचन भएपछि मतगणना स्थानीय तहमा नै गर्ने व्यवस्था मिलाएको उल्लेख गरे । तर, प्रदेश र संघको मतगणना जिल्ला सदरमुकाममा गर्ने व्यवस्था गरिएकोले कसरी तीनै तहको निर्वाचन एकै चरणमा गर्न सकिन्छ ? भन्दै प्रश्न उठाए ।

स्थानीय तहको निर्वाचन पर धकेल्ने कुरा गर्नु भनेको असंवैधानिक र गैरकानूनी कुरा भएको उनको आरोप छ । उनले भने, ‘यो असंवैधानिक र गैराकानूनी कुरालाई छिर्के दाउको रुपमा लाएर देशलाई अनन्त कालसम्म निर्वाचन हुन नसक्ने अवस्थामा पुर्याउने जुन खेती अहिले केही राजनीतिक दलका नेताहरुको प्रस्तावको रुपमा आएको छ । यो गलत कार्य हो । यसको निन्दा र भत्र्सना गर्छु ।’

प्रतिक्रिया दिनुहोस्