Logo
Logo

‘लापरबाहीपूर्ण तरिकाले सडक विस्तार गर्दा गैंडा मर्‍यो’


504
Shares

चितवन । वन्यजन्तु करिडोरमा लापरबाहीपूर्ण तरिकाले सडक विस्तारको काम गर्दा गैंडा मरेको चितवन राष्ट्रिय निकुञ्जले जनाएको छ । सडक विस्तार गर्दा गर्नुपर्ने आवश्यक मापदण्ड र प्रक्रिया पूरा नगरी डिभिजन सडक कार्यालय भरतपुरले काम गराउँदा गैंडा मरेको हो ।

निकुञ्जको वरण्डाभार वन क्षेत्रमा निर्माणाधीन नालीको खाडलमा परेर आइतबार दुर्लभ एकसिंगे गैंडा मरेको थियो । गैंडाको पेटमा नाली निर्माण गर्न प्रयोग गरिएको रड छिरेपछि खाडलबाट बाहिर निस्किन नसकेर गैंडा मरेको हो ।

निकुञ्जका प्रमुख संरक्षण अधिकृत हरिभद्र आचार्यका अनुसार वरण्डाभार क्षेत्रमा सडक निर्माण गर्नुपर्दा आवश्यक पर्ने प्रक्रिया पूरा नगरी काम गरिएको छ ।

हालसालै डिभिजन सडक कार्यालय भरतपुरले रूख काट्नका लागि अनुमति लिन पत्र पठाएको छ । सडकले निर्माण पूर्व नै प्रारम्भिक वातावरणीय परीक्षण वा वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने हुन्छ । ती दुवै काम नगरीकनै सडक विस्तार थालिएको पाइएको छ । यस्तो कार्य गर्दा निकुञ्जसँग अनुमति र राय लिनुपर्ने हुन्छ ।

आचार्यका अनुसार सहमति राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागबाट लिनुपर्ने हुन्छ । निकुञ्जको रायअनुसार विभागले सहमति दिएपछि निकुञ्जले अनुमति दिने गर्दछ । यहाँ निर्माण गर्दा भने निकुञ्जलाई कामको जानकारी नदिएको आचार्यले बताए ।

घटनास्थलको प्रतिवेदन आज पेश भएसँगै अनुसन्धान अधिकृत तोकेर घटनाको अध्ययन सुरू गर्ने उनले जानकारी दिए । निकुञ्जले सडकलाई पत्र पठाउँदै छ । वन क्षेत्रमा नाली किन आवश्यक पर्‍यो ? सो विषयमा अध्ययन गर्न थालिएको उनको भनाइ छ । सहरी क्षेत्रको पानी वन क्षेत्रमा पठाउन लागिएको हो वा के हो ? यस विषयमा बुझ्ने उनले बताए । उनले भने, ‘सडकले गर्न नहुने काम गर्‍यो।’

वातावरणीय प्रभाव हेरेर काम गरेको भए घटना हुनबाट जोगिने निकुञ्जका अधिकारीको भनाइ छ । डिभिजन वन कार्यालय भरतपुरका प्रमुख बाबुराम सापकोटाले निकुञ्जसँग अनुमति लिने र प्रक्रिया पूरा गरे जस्तो आफूलाई नलागेको बताए ।

उनले भने, ‘नालाको क्युरिन (पानीले भिजाउने काम) बाँकी रहेकाले खाल्डो नपुरिएको हो। त्यति नै बेला गैंडा खसेर घटना भयो ।’ छिटो पुर्दा संरचना कमजोर हुने भएकाले खाल्डो नै छोडिएको उनको भनाइ छ।

ठेक्का लगाउँदा पुल्चोकबाट ६ किलोमिटर ८०० मिटर लम्बाइ विस्तार गर्न लागिएकोमा सो ठाउँसम्म सडक पुगेको सापकोटाको भनाइ छ । निर्माण कम्पनी इण्डो सगुन ज्वाइन्ट भेन्चरका सञ्चालक सहदेव खड्काले सडकले ठेक्का दिएअनुसार आफूहरूले काम गरेको बताए ।

सो ठाउँमा माघ ४ गते निर्माणको काम गरेकाले अझै चार दिन पानीले भिजाउनुपर्ने भएकाले खाल्डो नपुरिएको बताए ।

निकुञ्जका वरिष्ठ पशु चिकित्सक डा विजयकुमार श्रेष्ठले सडकको लापरबाहीको कारण १२ वर्षको भाले गैंडा मरेको बताए । खाल्डोमा भएको रड पेटमा रोपिएर गैंडा उठ्न नसकी मरेको उनको भनाइ छ ।

पशु अधिकारकर्मीहरूले लापरबाहीपूर्ण तरिकाले गरिने निर्माणका कारण यस्ता घटना समय(समयमा हुने गरेको बताएका छन्।

प्रतिक्रिया दिनुहोस्