काठमाडौं । अत्यधिक हिमपातका कारण अफगानिस्तानमा सामेबारसम्म कम्तीमा ४२ जनाको मृत्यु भएको छ । हिमपातमै परी अन्य ७६ जना घाइते भएको समेत स्थानीय सञ्चार माध्यमहरुले समाचार सम्प्रेषण गरेका छन्।
तालिवान सरकारको प्रकोप व्यवस्थापन मामिला मन्त्रालयले देशका १५ प्रान्तमा हिमपात भएको जनाएको छ । हिमपातका कारण दुई हजारभन्दा बढी घरहरुमा क्षति पुगेको मन्त्रालयका अधिकारीहरुले जनाएका छन्।
हिमपातबाट प्रभावितहरुलाई मन्त्रालयको तर्फबाट अत्यावश्यक सेवा तथा सामग्रीहरु उपलब्ध गराइएको पनि उनीहरुदे बताएका छन्।
प्रतिकूल मौसमका कारणले हिमपातबाट प्रभावित भएकाहरुको खोजी, उद्धार तथा राहतका लागि गाह्रो भइरहेको घटनास्थलमा खटिएका अधिकारीहरुले बताएका छन्।
प्रभावितहरुलाई विभिन्न ठाउँमा स्थानान्तरण गरेर अस्थायी शिविर बनाएर राखिएको पनि मन्त्रालयका अधिकारीहरुले जनाएका छन् ।