काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम घेब्रेसियसले ओमिक्रोनलाई कोरोना महामारीको अन्तिम भेरियन्ट सम्झिनु खतरनाक हुनसक्ने बताएका छन् ।
उनले संयुक्त राष्ट्रको हेल्थ एजेन्सी एक्जेक्युटिभ बोर्ड बैठकमा यस्तो बताएका हुन् । तर महामारीबाट बच्नका लागि व्यापकरुपमा उपायहरू अपनाए यो वर्षको अन्तिमसम्ममा यो अन्त्य पनि हुन सक्ने आशा पनि उनले व्यक्त गरेका छन् ।
्भविष्यमा यस्तो हालत रोक्नका लागि अहिलेको महामारीबाट पाठ सिक्न र नयाँ समाधान खोज्न जरुरी रहेको उनको भनाई छ । यसका लागि हामीले महामारीको अन्त्यलाई पर्खन नहुने उनको जिकिर थियो ।
विश्व स्वास्थ्य संगठनका प्रमुखका अनुसार पछिल्लो हप्ताको तथ्याङ्कलाई ध्यान दिने हो भने हरेक तीन सेकेण्डमा १०० जना कोरोना संक्रमित बनेका छन् भने हरेक १२ सेकेण्डमा एक जनाको मृत्यु भएको छ ।
डब्लूएचओले गरिब देशमा खोपको पहुँच बढाउन अपील पनि गरेको छ । जुन २०२२ सम्म सबै देशमा कम्तिमा ७० प्रतिशत जनसङ्ख्यालाई खोप लगाइसक्नुपर्ने संगठनले जनाएको छ ।
सन् २०२१ को अन्त्यसम्ममा डब्लूएचओका १९४ सदस्य देशमध्ये धेरैले आफ्नो ४० प्रतिशतभन्दा बढी नागरिकलाई खोप लगाइसकेका थिए । अफ्रिकामा भने ८५ प्रतिशत जनसङ्ख्याले खोपको एक मात्रा पनि पाएका छैनन् ।