काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट गर्न नेता बर्षमान पुन ‘अनन्त’ खुमलटारमा पुगेका छन् ।
लामो समयको उपचार पश्चात् चीनबाट सोमबार स्वदेश फर्किएका पार्टीका नेता पुन आज अध्यक्ष प्रचण्डलाई निवास खुमलटारमामा पुगेर भेट गरेका हुन् । अध्यक्ष प्रचण्डले नेता पुनलाई स्वागत तथा उनको पूर्ण स्वास्थ्यलाभको कामना गरेका छन् ।
सोमबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थल हुँदै स्वदेश फकिएका नेता पुनलाई सरकारको तर्फबाट युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक) ले स्वागत गरेका थिए ।
स्वास्थ्य उपचारपछि स्वदेश फकिएका पुनलाई सरकारको तर्फबाट मन्त्री अथकले तथा पार्टीको तर्फबाट नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले स्वागत गरेका हुन् ।
जन्डिसको समस्या आएपछि पुन गत असोजमा बैंकक गएका थिए । त्यहाँको उपचार प्रभावकारी नभएपछि पुनलाई चीन लगिएको थियो । चीनमा लामो समय उपचार पछि पूर्ण रुपमा स्वस्थ हुँदै नेता पुन सोमबार स्वदेश फर्किएका हुन् ।
पुर्व मन्त्री तथा नेकपा माओवादी केन्द्रका नेता पुनले आफू महासचिवको दाबेदार भएको बताएका छन् । स्वदेश फर्किएका नेता पुनले अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै आफू महासचिवको दाबेदार भएको बताएका हुन् ।
‘म पूर्ण रूपमा निको भएर स्वादेश फर्किएको छु। महासचिवमा मेरो स्वभाविक दाबेदारी रहन्छ’ उनले भने, ‘सहमतिकै आधारमा बाँकी पदाधिकारी टुंग्याउने कसरत हुन्छ । सहमति भए पनि वा निर्वाचन भए पनि महासचिवमा मेरो दाबी रहन्छ ।’