काठमाडौं । संयुक्त विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज (केएमसी) र मोरङको नोबेल मेडिकल कलेजको सम्बन्धन खारेज गर्न माग गरेको छ ।
मंगलबार काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापालाई ज्ञापनपत्र बुझाउँदै आठ विद्यार्थी संगठनका नेताले यस्तो माग गरेका हुन् । विद्यार्थी संगठनका नाममा आन्दोलन गरिरहेका आठ विद्यार्थी संगठनले जनकपुरको युथ क्याम्पसको खारेज गरिएको सम्बन्धन भने फिर्ता गर्न माग गरेका छन् ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियू, समाजवादी विद्यार्थी युनियन, अखिल छैटौँ, अखिल नेपाल विद्यार्थी युनियनलगायत संगठनमा आबद्ध विद्यार्थीहरूले मेडिकल कलेजका विद्यार्थीलाई अन्याय भएको भन्दै आन्दोलन गरिरहेका छन् ।