रामेछाप । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले अब हुने तीनै तहको निर्वाचनमा सत्तारूढ पाँच दल मिलेर जाने बताएका छन् । रामेछापका युवाहरूलाई पार्टीमा प्रवेश गराउँदै उनले अबको चुनावमा सत्तारूढ गठबन्धनका पाँच दल सँगै जाने बताएका हुन् ।
उनले भने, ‘पाँच दल मिलेर चुनावमा जान्छौं, कात्तिक, मंसिरतिर केन्द्र, प्रदेश र स्थानीय तहको चुनावमा जान सकिन्छ ।’ अहिले सरकारमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जसपा र राष्ट्रिय जनमोर्चा सहभागी छन् । आउँदो चुनावमा पनि यो गठबन्धन कायमै राखिने दाबी अध्यक्ष नेपालको थियो ।
लोकतन्त्र जोगाउन, संविधानको रक्षा गर्न, गणतन्त्र बलियो बनाउन र विकासको नयाँ अभियान अगाडि बढाउन आफूहरु एक हुने उनको भनाइ छ । उनले अहिले नै चुनाव हुने अवस्था नरहेको पनि बताए । अध्यक्ष नेपालका अनुसार ०७९ चैतभित्र तीनै तहको चुनाव हुनेछ ।