काठमाडाैं । गृहमन्त्री बालकृष्ण खाणले भिजिट भिसाको दुरुपयोग नगर्न नेपाली नागरिकहरुलाई आग्रह गरेका छन् । गृहमन्त्री खाणले मंगलबार वैदेशिक रोजगारसँग सम्बन्धित मन्त्रालय र निकायसँगको छलफलमा भिजिट भिसा दुरुपयोग गरेर पनि नेपाली नागरिकहरुले तेस्रो मुलुकमा पीडा भोग्नु परेको उल्लेख गर्दै त्यसको दुरुपयोग नगर्न आग्रह गरे ।
त्यस अवसरमा उनले भिजिट भिसामा गएर त्यसको दुरुपयोग गर्नेहरूमाथि कडा निगरानी राख्न पनि मातहतका निकायलाई निर्देशन दिए । गृहमन्त्री खाणले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थललाई व्यवस्थित बनाउन सम्बन्धित निकायलाई अझ प्रयत्न गर्न सचेत गराए । उनले बैदेशिक रोजगारीमा गएकाहरु ठगीको चपेटामा पर्ने गरेको उल्लेख गर्दै उनीहरुको उद्दारमा पनि सरकारले गम्भिरतापूर्वक लाग्नुपर्ने बताए ।
गृहमन्त्री खाणले कोभिड संकटको चपेटामा परेका आफ्ना नागरिकहरुलाई विदेशी भूमिमा काम गर्ने क्रममा समस्या नआओस् भन्नेमा सरकार गम्भिर रहेको बताए ।
उनले भने , ‘भिजिट भिसामा गएकाहरुले त्यहाँ श्रमिकको रुपमा काम गर्न थाले । त्यो पनि समस्या छ । अर्को कामका लागि गएका तर काम नपाएकाहरुको पनि समस्या छ । यस विषयमा श्रम मन्त्रीले मन्त्रिपरिषदमा कुरा राख्नु भएको छ । त्यता पट्टी यो समस्यालाई सल्टाउन नेपाल सरकार गम्भीर छ ।’
भिजिट भिसालाई अन्य प्रयोजनमा दुरुपयोग नगरुन् भन्नेमा े सजगता आवश्यक रहेको बताए । यस्तै एयरपोर्टमा भएको मालसामान ओसारपसारको कामलाई व्यवस्थापन गृह मन्त्रालय लागि परेको उनको भनाइ छ ।
‘पहिलो त हाम्रो अन्तराष्ट्रिय विमानस्थल एउटा मात्रै छ । त्यो हामी सबैका लागि गेटवे पनि हो । प्रतिष्ठाको विषय पनि हो । त्यसकारण यो एयरपोर्टबाट बाहिर जाने र भित्र आउनेहरुलाई सहज होस् भन्ने हामी सबैको प्रयत्न हो,’ उनले भने ।