Logo
Logo

नचम्किने तारा र नसुनिने स्वरहरूको उत्पादन !


3k
Shares

पछिल्लो समय नेपालमा विभिन्न रियालिटी शोले बजार लिएको छ । वर्षैपिच्छे नयाँ–नयाँ रियालिटी शोहरू थपिँदैछन् । टेलिभिजनले रियालिटी शोलाई दर्शक तान्नेमात्र नभएर व्यापारको माध्यम नै बनाएका छन् । जसका कारण नाच्ने, गाउने र हँसाउने थुप्रै शो थपिएका छन् ।

रियालिटीको शोको मुख्य उद्देश्य– लुकेका प्रतिभा बाहिर ल्याउनु । यसै भन्छन्– आयोजक । ‘तिम्रो सुर, मेरो गीत’देखि सुरु भएको सिंगिङ रियालिटी सो अहिले ‘सारेगम लिटल च्याम्प’सम्म आइपुगेको छ । यी सबै रियालिटीका आयोजक दावी गर्छन्– लुकेका प्रतिभालाई बाहिर ल्यायौँ । तर उनीहरु, ‘व्यापार गयौँ’ भन्दैनन् ।

एक किसिमले भन्ने हो भने रियालिटी शोबाट आयोजकलाई मात्र फाइदा हुँदै आएको छ । रियालिटी शोका विजेता सधैँ गुमनाम हुने गर्छन् ।

हुन त नेपालमा हुने रियालिटी शोका विजेताहरू हराउनु सामान्य नै हो । झन् पछिल्लो समय थपिएका रियालिटी शोका विजेता को बन्यो भन्नेसम्म थाहा हुँदैन । कारण, कार्यक्रम सकिएपछि आयोजकले उनीहरुलाई बेवास्ता गर्नु पनि हो ।

रियालिटी शोबाट उदाएका स्टारहरू ‘आज आए, भोलि हराए’ भनेजस्तै हुने गरेका छन् । यस्ता शोका विजेता सफल हुने एकदमै न्युन छन् ।

रियालिटी शोहरुले बर्गेल्ती ‘स्टार’ उत्पादन गर्छ । तर, आक्कल झुक्कल बाहेक बहुसंख्य स्टार चम्कदैनन् । अर्थात नचम्किने तरा र नसुनिने स्वरहरुको उत्पादन ! आज आउँछन्, भोलि हराउँछन् । तर, शोमा नचम्केकाहरु शो पछि चम्केका छन् ।

रियालिटी शोका विजेतामध्ये सबैभन्दा सफल दीपक लिम्बूलाई मानिन्छ । उनी ‘नेपाली तारा’को पहिलो विजेता हुन् । दिपकसँगै सिजन–१ मा चौँथो भएकी इन्दिरा जोशी त्यो समयदेखि नै चर्चामा छन् ।

त्यसपछिका विजेता गुमनाम छन् । नेपाली तारा सिजन–२ का विजेता सन्तोष लामा सामान्य चर्चामा छन् । थोरै काम तर राम्रो काम गरे पनि कम चर्चामा छन् । तर, सिजन–३ का विजेता प्रताप लामा त कता छन् कसैलाई थाहा छैन । फालाना पनि गायक हुन् र ? भन्ने धेरैलाई लाग्न थालिसके । प्रताप विजेता हुन्जेल मात्रै चर्चा चल्यो । त्यसपछि उनका कति गीत आए कसैलाई पत्तो छैन ।

यता, ‘टप फाइभ’बाट ‘आउट’ भएका प्रताप दास भने चर्चामा छन् । प्रताप चलचित्रका गीतहरु गाइरहेका छन् । उनका आधुनिक गीतहरूले पनि चर्चा बटुलेकै छ । सिजन–३ का फस्ट रनरअप देवेश राई फाट्टफुट्ट सुनिन्छ । देवेश गायनभन्दा एरेन्जमा व्यस्त छन् । आफूलाई कामको खाँचो नभएको देवेश बताउँछन् ।

‘तिम्रो सुर, मेरो गीत’ रियालिटी शो त धेरैले बिर्सिसके । रियालिटी शोको नाम नै थाहा नभएपछि विजेताको नाम थाहा हुने कुरै भएन ।

वि.स.२०५६ मा प्रशन्ना शाक्य उक्त रियालिटी शोकी विजेता बनेकी थिइन् । त्यसपछि उक्त रियालिटी शो नै गुमनाम बन्यो ।

यता, ‘नेपाल स्टार’का पहिलो विजेता विष्णु चेम्जोङ र दोस्रो सिजनकी विजेता रितु लामालाई पनि श्रोता तथा दर्शकले चिन्न छाडिसके ।

‘खोजी प्रतिभा’बाट खोजिएका विक्रम लिम्बूलाई खोज्नुपर्ने अवस्था छ । सन् २०१२ मा ‘खोजी प्रतिभा’का विजेता बन्दा दर्शक–स्रोताको मनमुटुमा बसेका उनलाई धेरैले बिर्सिसके । आज उनी नेपथ्यमा छन् ।

त्यस्तै, पहिलो ‘खोजी प्रतिभा’का विजेता दुर्गा परियारलाई पनि गीत संगीतप्रमीहरूले भुलिसके । उनलाई पनि फेरि एकपटक खोज्नुपर्ने बेला भएको छ ।

यतिमात्रै होइन, पछिल्लो समय चर्चामा आएका रियालिटी शोका थुप्रै विजेता गुमनाम छन् । ‘नेपाल आइडल’का विजेताहरू पनि आइडलदेखि अगाडि आउनै सकेका छैनन् । सिजन–१ का विजेता बुद्ध लामा, सिजन–२ का रवि ओड र सिजन–३ की सञ्जा चौलागाईँलाई पनि दर्शक, स्रोतले भुल्न थालिसके । उनीहरू कता छन् भनेर प्रश्न गर्न थालिसके ।

प्रथम ‘नेपाल आइडल’को उपाधि जितेपछि केही महिनासम्म बुद्ध लामाले सबैको वाहवाही पाएका थिए । तर, हिजोआज उनी खोई कता छन् ? प्रश्न गर्न थालिएको छ । बरु आइडलका विजेता बन्न नसकेकाहरू धेरै चर्चामा छन् ।

निसान भट्टराई, प्रताप दास र सागर आलेलाई बुद्धभन्दा सफल गायकका रुपमा लिइन्छ । चर्चा पनि उनीहरूकै हुने गर्छ । गीत पनि उनीहरूकै सुनिन्छ ।

सिजन–२ का विजेता रवि ओढलाई त रविको किरणले पनि भेटाउन गाह्रो ! न उनी चर्चामा छन्, न त उनका गीत नै । आइडलबाट उदाएका रविलाई उदाउनासाथ बादलले छोपिदियो । उनको किरणले बादल छिचोल्न सकेको छैन । बरु यहि सिजनमा तेस्रो बनेकी अस्मिता अधिकारी अहिले चल्तीका गायिका हुन् ।

अस्मिताले आधुनिकसँगै थुप्रै चलचित्रका गीत गाइसके । यहि सिजनमा दोस्रो बनेका बिक्रम बरालले पनि रविको भन्दा राम्रो स्थान बनाएका छन् ।

सिजन–३ की विजेता बन्दा सञ्जाले राम्रै चर्चा पाए । पहिलो आइडल महिला भन्दै उनलाई मिडियादेखि दर्शक सबैले राम्रो साथ दिए । तर, सज्जाले भने साख जोगाउन सकेनन् । उनको गीतमा दर्शक–स्रोताले ‘मज्जा’ लिन पाएका छैनन् । त्यसैले रियालिटी शोको टाइटल धान्न नसकेको स्वीकार्छन । सज्जा भन्छन्– ‘आइडल हुनअघि जस्तो थिएँ, अहिले पनि त्यस्तै छु ।’

यही सिजनको उत्कृष्ट ११ बाट बाहिरिएका मेनुका पौडेलले भने आधुनिक गायनमा आफूलाई स्थापित गरिन् । भारतीय टेलिभिजनबाट प्रसारण हुने ‘सारेगमप’मा समेत उनले निक्कै प्रशंसा बटुलिन् । ‘टपटेन’मा परेका रचना रिमाल, प्रविन बेडवाल, किरण भुजेलले भने आफूलाई स्थापित गरे ।

‘द भ्वाइस अफ नेपाल’का विजेताहरूको ताल पनि उस्तै छ । उनीहरूको चर्चा कतै सुनिँदैन । ‘द भ्वाइस अफ नेपाल’ सिजन–१ को उपाधि जितेका सिडी विजय अधिकारीलाई उक्त उपाधिले खासै प्रभाव पारेन । बरु पुरस्कार नपाएको गुनासोले बेलाबेलामा उनलाई चर्चामा ल्यायो । द भ्वाइस अघिकै संर्घषले उनलाई अहिले नेपाली गीत–संगीतमा ‘सिडी विजय पनि छ है’ भन्ने भइरहेको छ ।

सिजन–२ का विजेता राम लिम्बूको रियालिटी शो सकिएसँगै चर्चा पनि सकियो । एकतिर उनले धेरै गीत गाएका छैनन् । जति गीत बजारमा ल्याएका छन्, ती पनि भ्युजको खडेरीमा परेका छन् । सिजन–३ का विजेता किरण गजमेरलाई भने अमेरिकै फापेको छ । रियालिटी शो सकेर अमेरिका गएका उनी अहिलेसम्म नेपाल आएका छैनन् । उनको गीत पनि कसैले सुन्न पाएका छैनन् ।

गत असोजमा नेपाल आएपनि उनलाई अध्यागमन कार्यालयले भिसा वर्ष २०२१ सकिएको भन्दै त्रिभुवन विमानस्थलबाटै फर्कायो । उनका केही गीतहरू बजारमा आएपनि चर्चा पाउन सकेन ।

यस्तै, ‘नेपाल स्टार’का विजेता एलिना गुरुङ र ‘नेपाल लोक स्टार’का शनी विश्वकर्माको चर्चा कतै सुनिँदैन । ‘स्टार’ भएकै दिनदेखि उनीहरूको ‘गुमनाम स्टार’ यात्रा सुरु भयो । अहिलेसम्म उनीहरूको न गीत सुनिन्छ, न त देख्नै पाइन्छ ।

बालगायन रियालिटी शो ‘द भ्वाइस किड्स नेपाल’को पनि पहिलो सिजन सकिएको छ । अघिल्लो शनिबारमात्रै जेनिश उप्रेतीले उक्त रियालिटीको उपाधि हात पारे । उनलाई पनि उपाधिको साख जोगाउन निकै मुस्किल देखिन्छ । बरु फाइनालिस्ट रुक्सना लिम्बुको चर्चा बढी छ । उनी सामाजिक सञ्जालमा हारपछि पनि छाइरहेका छन् ।

यस्तै, अहिले गायनकै ‘सारेगम लिटल च्याम्प’, ‘नेपाल आइडल सिजन–४’ र ‘ब्यान्ड च्याम्पियन नेपाल’ चलिरहेको छ । यसरी दिनप्रतिदिन रियालिटी शोरू बढिरहेको छ । तर, विजेताहरूले उपाधिको साख जोगाउन सकेका छैनन् । विजेताभन्दा पनि अरु नै सफल भएका छन् । यसले उपाधि जित्नुमात्रै सफलता होइन भन्ने देखाउँछ । रियालिटी शो खहरे खोलाजस्तै मात्र भएको प्रस्ट हुन्छ, बाढी आएको बेला सबैलाई बगाउने, अरुबेला सुख्खा बगर ।

‘बोकेको कुकुरले सिकार गर्न सक्दैन’ भन्छन् । त्यस्तै हो अरूको गीत गाएर उपाधि जित्नु पनि । अरूको गीत मात्रै राम्रो गाएर पुग्दैन, आफ्नो गीत पनि राम्रो हुनुपर्छ । हरेकले नारायण गोपाल, गोपाल योञ्जन, तारादेवी, अरुणा लामा, दीप श्रेष्ठ आदि जस्तै आफ्नो मौलिकता दिनसक्नुपर्छ । रियालिटी शो एउटा माध्यम मात्र हो । तर, टिक्ने र टिकाउने आफूमा भरपर्छ ।

प्रतिक्रिया दिनुहोस्