Logo
Logo
कला

‘ग्ल्यामरस हेर्ने आँखामा भरपर्छ’


6.9k
Shares

फरिता खड्काले मोडल वा हिरोइन बन्छु भन्ने सोचेकी थिइनन् । तर, अहिले उनी व्यस्त मोडल बनेकी छिन् । खोटाङमा जन्मिएकी फरिता उदयपुर, विराटनगर हुँदै काठमाडौं आइपुग्दा चल्तीकी मोडल बनेकी छिन् । हिजोआज उनलाई म्युजिक भिडियोमा भ्याइनभ्याई छ । उनी मोडलमात्र होइनन्, कुसल नृत्यांगना पनि हुन् । नृत्य गर्दागर्दै मोडलिङतिर फड्को मारेकी फरिता भन्छिन्, ‘नृत्यकार नभएको भए सायद मोडलिङमा आउने थिइनँ । किनकि, मैले मोडल बन्ने सपना बनाएकै थिइनँ ।’ बागबजारस्थित पद्मकन्या क्याम्पसमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत फरिताले कथक नृत्यलाई मेजर सब्जेट बनाएकी छन् । फरिता भन्छिन्, ‘मेरो उद्देश्य भनेकै कुसल कलाकार बन्ने हो ।’ दुई दर्जन बढी म्युजिक भिडियोमा मोडलिङ गरिसकेकी फरिताले डान्स स्टुडियोसमेत सञ्चालन गर्दै आएकी छन् । ‘डायनामिक नृत्य क्रियटिभ’की सिईओ तथा मुख्य प्रशिक्षकसमेत रहेकी फरितासँग दृष्टिको जम्काभेट :

तपाइँको दैनिकी कसरी बितिरहेको छ ?
कलाकारिता, पढाइ र जागिरमा व्यस्त छु । समय बितेकै थाहा नहुने रहेछ ।

जब पनि गर्नुहुन्छ ?

मेरो जब पनि इन्टरटेनमेन्टसँग सम्बन्धित छ । म ‘क्रियटिभ स्मार्ट पाठशाला’मा जब गर्छु, जहाँ बालबच्चाहरूलाई पढाइसँगै मनोरञ्जन प्रदान गरिन्छ ।

यो क्षेत्रमा तपाइँले कति समय बिताइसक्नुभयो ?

सानैदेखि नृत्य गर्थेँ । नृत्य गर्दागर्दै मोडलिङमा लागेकी हुँ । मोडलिङ र नृत्य दुवै क्षेत्रमा सक्रिय भएको ६ वर्ष भयो ।

मोडलिङप्रति कसरी प्रभावित हुनुभयो ?

मोडल बन्छु भन्ने सोचेकी थिइनँ । तर, विराटनगरमा नृत्य सिकाउँदा सिकाउँदै एउटा फेसन शोमा क्याटवाक गर्ने अवसर पाएकी थिएँ । त्यसपछि मोडलिङमा लाग्ने इच्छा जाग्यो ।

तपाईँ नृत्य पनि सिकाउनुहुन्छ ?

धेरै पहिलेदेखि सिकाउँदै आएकी छु । ५/६ वर्षअगाडि विराटनगरमा नृत्य सिकाउँथे । अहिले मेरो आफ्नै डान्स स्टुडियो छ । जहाँ, दैनिक ३५ जनाभन्दा बढीलाई नृत्य सिकाउँदै आएकी छु ।

कलाकार बन्नकै लागि काठमाडौं आउनुभएको हो ?
सुरुमा म्युजिक भिडियो सुटका लागि काठमाडौं आएकी थिएँ । त्यसपछि पढ्न भनेर यहाँ आएँ । अहिले पढाइ र मोडलिङ गर्दै आएकी छु ।

अहिले पढाइ कहाँ पुग्यो ?

म अहिले स्नातक दोस्रो वर्षमा अध्ययनरत छु । कथक नृत्यलाई नै मेजर सब्जेट बनाएर पद्मकन्या क्याम्पसमा पढ्दैछु ।

नृत्यलाई करिअर बनाउन सकिने अवस्था छ ?

सुरुमा रहर र इच्छाले नृत्य गर्थेँ । विस्तारै नृत्यबाटै मोडलिङमा लागेँ । रहर, इच्छा र उद्देश्य नै नृत्य भएपछि क्याम्पसमा पनि त्यही विषय रोजेकी हुँ । अहिले आएर नृत्यमै करिअर देख्न थालेकी छु । निरन्तर संघर्ष र मेहेनत गरिरह्यो भने नृत्यमा मात्र होइन, सबै क्षेत्रमा सफलता पाउन सकिन्छ भन्ने लाग्छ ।

उद्देश्य नृत्य र मोडलिङ मात्रै हो कि फिल्मतिर पनि लाग्ने छ ?

अहिलेसम्म फिल्ममा काम गरेको छैन । तर, मेरो उद्देश्य राम्रो ब्यानरको नेपाली फिल्ममा काम गर्ने छ ।

तपाईँले अभिनय गर्ने फिल्म कस्तो हुनुपर्छ ?

मलाई यस्तै हुनुपर्छ भन्ने छैन । क्यारेक्टरवेशको फिल्ममा काम गर्ने मेरो इच्छा हो । मैले क्यारेक्टरलाई न्याय दिन सक्नुपर्छ । अनिमात्र फिल्ममा काम गरेको सार्थक हुन्छ ।

कलाकारितामा ‘ग्ल्यामरस’ अनिवार्य छ । यसका सहमत हुनुहुन्छ ?

म सहमत छु । किनकि, ग्ल्यामरस भनेको छोटो पहिरनले हुने होइन । ग्ल्यामरस भनेको पात्र हो । स्टोरीभित्रको पात्र आफैँमा ग्ल्यामरस हुन्छ । त्यो ग्ल्यामरस हरेक कलाकारले दिन सक्नुपर्छ । त्यसमा म पनि सहमत छु ।

तपाईँ आफूलाई कतिको ग्ल्यामरस छु जस्तो लाग्छ ?

म आफूलाई नर्मल लाग्छ । अरुलाई म ग्ल्यामरस लाग्न सक्ला । त्यो हेर्ने आँखामा भरपर्छ । आफ्नो लागि म परफ्याक्ट छु । त्यसैले जे छु ठीकै छु ।

तपाईँ यो क्षेत्रमा खुसी हुनुहुन्छ ?

एकदमै खुसी छु । आफूले रोजेको, आफैँले खोजेको क्षेत्रमा रमाएर काम गर्न पाइरहेकी छु । त्यसैले सन्तुष्ट पनि छु ।

संघर्ष गरेर यो क्षेत्रमा टिकिरहन गाह्रो छ नि ?

संघर्ष गर्न गाह्रो छ । तर, संघर्षविनाको प्रतिफल मीठो पनि हुँदैन । त्यसैले मलाई संघर्ष र मेहेनत गर्दै अगाडि बढ्न आनन्द लाग्छ ।

सिंगल तर ग्ल्यामरस फिल्डमा क्रियटिभ हुनुहुन्छ । प्रेम प्रस्ताव धान्न कति गाह्रो भइरहेको छ ?

एउटी उमेर पुगेकी केटीलाई प्रेम प्रस्ताव आउनु सामान्य हो । मलाई पनि आउँछ । तर, अहिले करिअरतिर ध्यान दिँदै आएकी छु । प्रेम प्रस्ताव स्वीकार्ने समय छैन । त्यसैले प्रेम प्रस्ताव राख्नेहरूलाई म व्यस्त छु, पर्खन सक्दिनँ भन्छु । प्रायःलाई सरी भन्छु । यदि नजिक नै हुन खोज्नेहरूलाई ‘बेस्ट फ्रेण्ड बनौँ’ भन्छु ।

प्रतिक्रिया दिनुहोस्